रवि लामिछाने–बालेन्द्र शाह एकै छातामुनि : सात बुँदे सहमति सार्वजनिक

Share on Social Media

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच एउटै राजनीतिक दलमार्फत आगामी निर्वाचनमा सहभागी हुने लिखित सहमति भएको छ। दुवै पक्षबीच विस्तृत छलफलपछि सात बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै सहकार्यलाई औपचारिक रूप दिइएको बताइएको छ।
सहमतिको प्रावधानअनुसार रास्वपाको औपचारिक नेतृत्व वर्तमान अध्यक्ष रवि लामिछानेकै जिम्मामा रहनेछ। तर आसन्न प्रतिनिधि सभा निर्वाचनपछि गठन हुने संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवारका रूपमा बालेन्द्र शाहलाई अगाडि सारिने व्यवस्था गरिएको छ। सहमतिपत्रको चौथो बुँदामार्फत बालेनलाई प्रधानमन्त्रीको प्रत्याशीका रूपमा मान्यता दिइएको स्पष्ट उल्लेख छ।
सहमतिपत्रमा सामाजिक न्यायलाई केन्द्रीय मान्यता दिने उदार अर्थतन्त्र, बहुदलीय लोकतान्त्रिक प्रणाली र सुशासनप्रतिको प्रतिबद्धता दोहोर्याइएको छ। समतामूलक र उत्तरदायी राज्य व्यवस्थाका लागि रूपान्तरणमा विश्वास गर्ने राजनीतिक शक्तिहरूबीच सहकार्य अपरिहार्य रहेको निष्कर्षसहित दुवै पक्ष एकतामार्फत अघि बढ्न सहमत भएका छन्।
पहिलो बुँदामा हाल चर्चामा रहेको ‘जेन–जी आन्दोलन’लाई सहानुभूति र समर्थन व्यक्त गरिएको छ। आन्दोलनसँग जोडिएका जायज मागहरू सम्बोधन गर्न नीतिगत र कानुनी संयन्त्रमार्फत पहल गरिने उल्लेख छ। समावेशी, दिगो र न्यायपूर्ण परिवर्तनलाई साझा एजेन्डाका रूपमा अघि बढाइने बताइएको छ।
सहकार्यसँगै बालेन्द्र शाहले रास्वपाको नेतृत्वलाई स्वीकारेको र रवि लामिछानेले भावी प्रधानमन्त्रीका रूपमा बालेनलाई समर्थन गर्ने सहमति बनेको बताइन्छ। फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनपछि देशको राजनीतिक समीकरणमा यस कदमले नयाँ मोड ल्याउने आँकलन भइरहेको छ।
अब औपचारिक एकीकरण, संगठन संरचना र नीतिगत खाका तय गर्न थप गृहकार्य अघि बढाइने तयारी गरिएको दुवै पक्षको भनाइ रहेको छ। सहमतिपत्रले सहकार्यलाई दीर्घकालीन राजनीतिक यात्राको सुरुआतका रूपमा अर्थ्याउँदै आम नागरिकका अपेक्षा पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *