राजेश कुमार कर्ण
काठमाडौँ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व उपसभापति विमलेन्द्र निधिमाथि पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको दुर्व्यवहारपछि विषयले देशभर ठूलो चर्चा र विवाद निम्त्याएको छ। पार्टीभित्रकै केही कार्यकर्ताले निधिलाई कार्यालय प्रवेशमा अवरोध गर्दै गालीगलौज र अवमाननापूर्ण व्यवहार गरेको आरोपपछि त्यसविरुद्ध तीव्र प्रतिक्रियाहरू आएको छन्। घटना सार्वजनिक भएपछि कांग्रेसभित्रै मात्र होइन, लोकतन्त्रप्रेमी नागरिक, बुद्धिजीवी र आम सर्वसाधारणले समेत यसलाई अस्वीकार्य र अक्षम्य भएको टिप्पणी गरेका छन्।
विमलेन्द्र निधि नेपाली कांग्रेसकै होइन, नेपालको लोकतान्त्रिक यात्राका महत्त्वपूर्ण साक्षीका रूपमा चिनिन्छन्। पञ्चायती व्यवस्थाविरुद्धको सङ्घर्षदेखि २०३६ सालको जनमत संग्रह, २०४६ सालको जनआन्दोलन र २०६२/६३ सालको दोस्रो जनआन्दोलनसम्म निधि सक्रिय नेतृत्व भूमिकामा रहे। उनी नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय महेन्द्र नारायण निधिका पुत्र भए पनि राजनीतिमा स्थापित स्थान भने आफ्नै संघर्ष, राजनीतिक परिपक्वता र त्यागका कारण प्राप्त भएको मानिन्छ। यही पृष्ठभूमिका कारण पार्टीभित्रका अग्रज नेतामाथि गरिएको दुर्व्यवहारलाई धेरैले इतिहास र लोकतान्त्रिक यात्रामाथिको अपमानका रूपमा लिएर टिप्पणी गरेका छन्।
घटना सार्वजनिक भएपछि देशभरबाट विरोधका आवाज उठिरहेका छन्। विभिन्न नेताहरूले निधिमाथि गरिएको व्यवहार पार्टीको अनुशासन, मर्यादा र लोकतान्त्रिक मूल्यसँग असंगत भएको भन्दै आलोचना गरेका छन्। विधि र विधानको नाममा असहिष्णुता, अविश्वास र आक्रोशको प्रवृत्ति देखिनु पार्टीकै लागि हानिकारक भएको टिप्पणी गर्दै उनीहरूले कांग्रेसभित्र यस्ता अराजक गतिविधिलाई तत्काल रोक्न नेतृत्वले पहल गर्नुपर्ने धारणा राखेका छन्।
यस घटनापछि विशेषगरी मधेस क्षेत्रमा व्यापक राजनीतिक प्रतिक्रिया देखिएको छ। निधि मधेसबाट उदाएका राष्ट्रिय नेता भएकै कारण मधेसमा यसको प्रभाव अझ गहिरो भएको बुझिएको छ। जनकपुरधामसहित धनुषा, महोत्तरी, सिरहा, सर्लाहीलगायतका जिल्लाहरूमा निधिमाथिको अपमानको विरोधमा प्रदर्शन भएका छन्। स्थानीय तहका कांग्रेस कार्यकर्ता र सर्वसाधारण सहभागी रहेका प्रदर्शनहरूमा टायर बालेर सडक अवरुद्ध गरिएको, सडक जाम गरिएको र नाराबाजी गरिएको देखिएको छ। कतिपय स्थानमा कांग्रेस नेता गगन थापाको पुतला दहन गरी उनको भूमिकाप्रति आपत्ति जनाइएको पनि समाचारहरूमा उल्लेख गरिएको छ। प्रदर्शनकारीहरूले निधिमाथिको अपमान केवल व्यक्तिगत विषय नभई मधेसको योगदान र सम्मानमाथिको आघात भएको दाबी गरेका छन्।
निधिमाथिको व्यवहारलाई मधेसमा भएको असन्तुष्टिको स्वरूपमा पनि हेरिएको छ। मधेसको गौरव मानिएका ऐतिहासिक नेतृत्वमाथि अपमानजनक व्यवहार हुनु मधेस र केन्द्रबीचको विश्वास सम्बन्धमै चोट लाग्नु हो, जसले राजनीतिक दूरी थप बढ्न सक्ने संकेत देखाएको छ। निधिसँग जोडिएको घटनालाई कांग्रेसभित्र बढ्दो ध्रुवीकरण, आन्तरिक अविश्वास र सहिष्णुताको कमजोर अवस्थाको प्रतिनिधि घटनाका रूपमा वर्णन गरेका छन्। उनको मूल्याङ्कनमा नेपाली कांग्रेस बहस, सहमति र लोकतान्त्रिक संस्कारमा आधारित दल भए पनि पछिल्लो समय व्यवहारमा ती मूल्यहरू कमजोर हुँदै गएको देखिएको छ। पार्टीभित्रको मतभेद र असन्तुष्टिलाई विचार संवादका माध्यमबाट होइन, अपमान र अवरोधका शैलीबाट अभिव्यक्त गर्नु खतरनाक राजनीतिक संकेत भएको उनीहरूको भनाइ छ।
आन्तरिक विवाद र नेतृत्व संघर्षबीच भएको यस घटनाले कांग्रेसको संगठनात्मक चरित्रमाथि पनि गम्भीर प्रश्न उठाएको छ। विगतका संघर्ष र आन्दोलनमार्फत लोकतन्त्र संरक्षणमा भूमिका खेल्ने दलका रूपमा चिनिएको कांग्रेसभित्रै अराजकता, उच्छृंखलता र असहिष्णुताको प्रवृत्ति देखिनु पार्टीको छविमाथि नकारात्मक असर पार्ने धेरैको धारणा छ। कांग्रेसप्रति समाजमा रहेको नैतिक राजनीतिक दलको पहिचान यस्ता घटनाका कारण क्रमशः कमजोर हुँदै गएको टिप्पणीसमेत गरिएको छ।
यता निधिमाथि भएको दुर्व्यवहारलाई लिएर युवापुस्ताले अग्रजप्रति सम्मानको संस्कृति जोगाउनुपर्ने सन्देशसमेत आएको छ। धेरै नेताहरूले अहिले पाइरहेको अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक अधिकार र खुला वातावरण स्वतःस्फूर्त रुपमा आएको होइन, निधिजस्ता नेतासहित हजारौँ कार्यकर्ताको त्याग र सङ्घर्षको उपलब्धि भएको स्मरण गराएका छन्। अग्रजहरूको अनुभव र योगदानलाई बिर्सेर अपमान गर्ने प्रवृत्ति राजनीतिक नैतिकताविपरीत भएको उनीहरूको तर्क छ।

यद्यपि, कांग्रेस नेतृत्वले यस विषयमा औपचारिक रूपमा कस्तो कदम चाल्छ भन्नेप्रति सबैको चासो केन्द्रित भएको छ। पार्टीभित्र देखिएको तनाव, ध्रुवीकरण र असन्तुष्टिलाई राजनीतिक प्रक्रिया र संवादमार्फत समाधान नगर्ने हो भने यसले दीर्घकालीन रूपमा कांग्रेसको लोकतान्त्रिक चरित्रमाथि समेत असर पार्ने चिन्ता व्यक्त भएको छ। निधिमाथिको दुर्व्यवहारप्रति देखिएको विरोध र भर्त्सना यत्तिमै सीमित नरही यस्ता घटनाको पुनरावृत्ति रोक्न संगठनात्मक र अनुशासनात्मक सम्बन्धमा ठोस कदम चाल्नुपर्ने माग बलियो बन्दै गएको छ।
नेपाली कांग्रेस देशको लोकतान्त्रिक इतिहाससँग परिचित दल भएकाले यससँग सम्बन्धित हरेक गतिविधि र निर्णयप्रति जनताको गहिरो निगाह रहने स्वाभाविक हो। यही सन्दर्भमा निधिमाथिको दुर्व्यवहार र त्यसपछिका विरोध प्रदर्शनहरूले कांग्रेसभित्र आन्तरिक लोकतन्त्र, वरिष्ठप्रतिको सम्मान र राजनीतिक संस्कृतिबारे गम्भीर बहस आवश्यक परेको संकेत स्पष्ट देखिएको छ।












