काठमाडौं ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले पार्टी कार्यालय बाहिर नेता बिमलेन्द्र निधिप्रति भएको व्यवहारलाई आपत्तिजनक र अमर्यादित भएको बताएका छन्। उनले आफूले सार्वजनिक रूपमा व्यक्त गरेको धारणा पार्टी महामन्त्री विश्वप्रकाश शर्माको अभिव्यक्तिसँग मिल्दोजुल्दो रहेको स्पष्ट गरेका छन्।
थापाले लोकतन्त्रमा फरक धारणा र मतप्रति सम्मान गर्नुपर्ने उल्लेख गर्दै ‘असल प्रजातन्त्रवादीले सत्यको अनेकतामा विश्वास गर्ने’ बताएका छन्। उनका अनुसार यदि सो घटना फरक मत राखेकै कारण घटेको हो भने त्यो अझ निन्दनीय छ।
उनले नेपाली कांग्रेसका सबै शुभेच्छुक र समर्थकहरूलाई विधि, विधान र लोकतान्त्रिक प्रक्रियाप्रति विश्वास राख्न आह्वान गरेका छन्। परिवर्तनको चाहना सबैको भए पनि त्यसका लागि विधि र प्रक्रियाभन्दाबाहिर जाने छुट कसैलाई नभएको थापाले स्पष्ट पारे।
थापाले भने, “हामी सबै परिवर्तन चाहन्छौँ तर विधि, विधान र प्रक्रिया भन्दा बाहिर कुनै बाटो छैन। प्रक्रियामा विश्वास गरौँ, हामी सबै सँगै छौँ।” भन्ने कुरा उनले थापाले फेशबुकमा लगायतका सामाजिक संजालमा लेखेका छन्।

यसअघि पार्टी कार्यालय परिसरमा नेता बिमलेन्द्र निधिमाथि असन्तुष्ट कार्यकर्ताहरूले नाराबाजीसहित अवाञ्छित व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि कांग्रेसभित्र नै त्यसको आलोचना भइरहेको छ।










