साम्पाङले काठमाडौंमा गरे शक्ति प्रदर्शन पार्टीलाई राष्ट्रिय राजनीतिक यात्रामा अघि बढाउने संकेत

२२ मंसिर, काठमाडौं ।धरानका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज (हर्क) साम्पाङले काठमाडौंमा शक्ति प्रदर्शन गर्दै पार्टीलाई राष्ट्रिय राजनीतिक यात्रामा अघि बढाउने संकेत दिएका छन्। निर्वाचन आयोगमा दल दर्ता गरेपछि राजधानीमा गरिएको यो पहिलो औपचारिक सभाले पार्टी संगठन विस्तारका प्रयासलाई खुलेर प्रस्तुत गरेको छ। काठमाडौं महानगर–७ स्थित सिफल चौरमा आयोजित कार्यक्रमलाई ‘संगठन विस्तार तथा …

Share on Social Media

२२ मंसिर, काठमाडौं ।
धरानका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज (हर्क) साम्पाङले काठमाडौंमा शक्ति प्रदर्शन गर्दै पार्टीलाई राष्ट्रिय राजनीतिक यात्रामा अघि बढाउने संकेत दिएका छन्। निर्वाचन आयोगमा दल दर्ता गरेपछि राजधानीमा गरिएको यो पहिलो औपचारिक सभाले पार्टी संगठन विस्तारका प्रयासलाई खुलेर प्रस्तुत गरेको छ।

काठमाडौं महानगर–७ स्थित सिफल चौरमा आयोजित कार्यक्रमलाई ‘संगठन विस्तार तथा पार्टी प्रवेश अभियान’ नाम दिइएको थियो। चौरभरि टाँगिएका राष्ट्रिय झण्डा, पार्टीका ब्यानर र नव–आगन्तुक कार्यकर्ताले बोकेका प्लेकार्डहरूले कार्यक्रमलाई उत्साहपूर्ण बनाएको थियो। सहभागीले प्रिन्ट गरिएको चुनाव चिन्ह—दुई हातको अँजुलीमा लिएको माटो—उचाली पार्टीको पहचानलाई प्रष्ट रूपमा प्रदर्शन गरे।

अध्यक्ष साम्पाङले परम्परागत शैलीमा पानसमा बत्ती बाल्दै कार्यक्रमको उद्घाटन गरे। उनले संक्षिप्त सम्बोधनमार्फत श्रम, स्वाभिमान र राजनीतिक स्वच्छता मूल एजेन्डा भएको पार्टी काठमाडौंदेखि कञ्चनपुरसम्म विस्तार गर्दै राष्ट्रव्यापी वैकल्पिक राजनीति निर्माणमा लाग्ने बताए। “हामी जनताको श्रमको मूल्य जगाउने, स्थानीय जनताको आवास, खानेपानी, सफाइदेखि रोजगारीसम्मको प्रश्नलाई राजनीतिको केन्द्रमा ल्याउने अभियानमा छौं,” साम्पाङले भने।

कार्यक्रममा प्रदेश र स्थानीय तहका प्रतिनिधि, पार्टी संरचना सम्हाल्ने नेतृत्व तथा विभिन्न क्षेत्रका युवाहरूको उल्लेख्य उपस्थिति थियो। राजधानीमा पहिलोपटक आयोजित सभामार्फत श्रम संस्कृति पार्टीले आगामी संघीय तथा स्थानीय निर्वाचनमा सक्रिय भूमिका खेल्ने संकेत दिँदै आफ्नो संगठनात्मक उपस्थिति मजबुत बनाउने दाबी गरेको छ।

सिफल चौरमा जमेको भीड र कार्यक्रमको उत्साहलाई राजनीतिक विश्लेषकहरूले नयाँ वैकल्पिक शक्ति उदाउने संकेतका रूपमा पनि व्याख्या गरेका छन्।

BoliBachan

BoliBachan

Subscribe to Our Newsletter

Keep in touch with our news & offers

What to read next...

Leave a Reply

Your email address will not be published. Required fields are marked *