२२ मंसिर, जनकपुरधाम ।जनकपुरधाम आगामी पुस पहिलो सातादेखि देशभरका युवापेसाप्रति समर्पित जेसीआई को विशाल जमघटको केन्द्र बन्ने भएको छ। जेसीआई नेपालको ५२औँ राष्ट्रिय महाधिवेशन पुस ४ देखि ७ गतेसम्म तिरहुतिया गाछीमा आयोजना हुने तयारी अन्तिम चरणमा पुगेकाे छ। देशभरका १८६ शाखाबाट प्रतिनिधि आउने भएकाले जनकपुरधाम केही दिनसम्म राष्ट्रव्यापी युवा नेतृत्व, बहस र प्रशिक्षणको केन्द्र बिन्दु …
जेसीआईको विशाल जमघट जनकपुरमा हुने, पुस ४ देखि ७ सम्म राष्ट्रिय महाधिवेशन

२२ मंसिर, जनकपुरधाम ।
जनकपुरधाम आगामी पुस पहिलो सातादेखि देशभरका युवापेसाप्रति समर्पित जेसीआई को विशाल जमघटको केन्द्र बन्ने भएको छ। जेसीआई नेपालको ५२औँ राष्ट्रिय महाधिवेशन पुस ४ देखि ७ गतेसम्म तिरहुतिया गाछीमा आयोजना हुने तयारी अन्तिम चरणमा पुगेकाे छ। देशभरका १८६ शाखाबाट प्रतिनिधि आउने भएकाले जनकपुरधाम केही दिनसम्म राष्ट्रव्यापी युवा नेतृत्व, बहस र प्रशिक्षणको केन्द्र बिन्दु बन्नेछ।
तीन हजार सहभागी, संरचनादेखि आतिथ्यसम्म तयारी तीव्र
जेसीआई जनकपुरधाम शाखाका अध्यक्ष मुकेश कुमार साहले सोमबार पत्रकार सम्मेलन गर्दै महाधिवेशनका लागि संरचनागत, प्राविधिक, सुरक्षा तथा आतिथ्य व्यवस्थापन तीव्र गतिमा भइरहेको जानकारी दिए। उनका अनुसार ठूलो संख्यामा सहभागी आउने भएकाले बसोबासदेखि यातायात, कार्यक्रमस्थल व्यवस्थापन र स्वयंसेवक परिचालनसम्मका काम ‘वार फुटिङ’ मा गरिएका छन्।
महाधिवेशनका प्रबन्ध निर्देशक तथा जेसीआई जनकपुरधामका पूर्वअध्यक्ष सुधिर पंजियारका अनुसार १८६ शाखाबाट प्रतिनिधित्व आउनेछ भने दक्षिण एशियाका केही जेसीआई प्रतिनिधिहरू पनि सहभागी हुने अपेक्षा छ।
पंजियारले भने, “चार दिनसम्म जनकपुरधाम युवा ऊर्जा, नेतृत्व विकास र अन्तर्राष्ट्रिय सम्पर्कको केन्द्र बन्दछ। करिब चार हजार सहभागी आउने भएकाले तयारीलाई अत्यन्तै प्राथमिकताका साथ अघि बढाएका छौँ।”
जनकपुरधामको पहिचान प्रवद्र्धन महाधिवेशनको प्रमुख उद्देश्य
आयोजकहरूका अनुसार यसपटकको महाधिवेशन केवल संगठनात्मक गतिविधिमा सीमित नभई जनकपुरधामको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई देश तथा विदेशमा प्रस्ट रूपमा प्रस्तुत गर्ने अवसरका रूपमा हेरिएको छ।
पंजियारका अनुसार कार्यक्रम सञ्चालनका लागि करिब ३ करोड ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। खर्चको ठूलो हिस्सा संरचना निर्माण, बसोबास व्यवस्था, भौतिक पूर्वाधार तथा सुरक्षामा प्रयोग हुनेछ।

महाधिवेशनको उद्घाटन सत्रमा को आउने भन्ने विषयमा भने आयोजकद्वारा स्पष्टता दिन सकिएको छैन।
राजनीतिक अस्थिरता, उच्चपदस्थ व्यक्तिहरूको स्वास्थ्य अवस्था र सरकारी व्यस्ततालाई कारण जनाउँदै पंजियारले प्रमुख अतिथि निर्धारणमा ढिलाइ भएको बताए।
उनका अनुसार प्रधानमन्त्री सुशिला कार्कीलाई प्रमुख अतिथि बनाउन प्रयास भइरहेको छ तर “केही प्राविधिक चुनौतीले” निर्णय टुंगो लाग्न सकेको छैन। राष्ट्रपतिको स्वास्थ्य अवस्था पनि सामान्य नदेखिएकोले विकल्पहरूबारे छलफल चलिरहेको जनाइएको छ।
जनकपुरमै पाँचौँपटक महाधिवेशन
जेसीआईका सल्लाहकार रमेश साहका अनुसार नेपालमा यति ठूलो महाधिवेशन यसअघि क्वचित मात्र भएको थियो। उनका अनुसार जनकपुरधाम पाँचौँपटक महाधिवेशनको host city बन्न लागेको हो।
उनी भन्छन्,
“सन् १९७७ मा अध्यक्ष लक्ष्मी बहादुर निराला र प्रबन्ध निर्देशक सीताराम सिकारियाको नेतृत्वमा पहिलोपटक महाधिवेशन जनकपुरमा भएको थियो। त्यसपछि १९९३, २००३ र २०१८ मा पनि जनकपुरधामले महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेको इतिहास छ।”
जनकपुरधामले फेरि सम्हाल्दै राष्ट्रिय ध्यान
महाधिवेशनले जनकपुरधामलाई देशव्यापी चर्चाको केन्द्रमा ल्याउने आयोजकहरूको विश्वास छ। धार्मिक राजधानीका रूपमा पहिचान बनाइसकेको जनकपुरधाम अब नेतृत्व विकास, युवा शक्ति र अन्तर्राष्ट्रिय सम्पर्कका गतिविधिको एउटा प्रमुख ठिकाना बन्ने अपेक्षा गरिएको छ।
चार दिनसम्म चल्ने यो महाधिवेशनले स्थानीय पर्यटन, व्यवसायिक गतिविधि र होटेल व्यवसायमा समेत सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ।

Subscribe to Our Newsletter
Keep in touch with our news & offers










