नेपाली सेनाको प्रस्टिकरण: संविधानप्रदत्त जिम्मेवारी पालनामा दृढ प्रतिबद्धता

Share on Social Media

काठमाडौं, चैत ६ गते – नेपाली सेनाले आफू संविधानप्रदत्त जिम्मेवारीहरू पूरा गर्न पूर्णतः कटिबद्ध रहेको स्पष्ट पारेको छ। पछिल्ला दिनहरूमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली सेनासम्बन्धी विभिन्न टिप्पणीहरू आएपछि सेनाले बुधबार एक आधिकारिक विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेको हो।

सेनाले जारी गरेको विज्ञप्तिमा नेपाल राष्ट्रको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्नु आफ्नो संवैधानिक दायित्व भएको उल्लेख छ। “नेपाली सेना सधैं राष्ट्रिय सुरक्षाको प्रमुख संरक्षकका रूपमा खटिएको छ र यो भूमिकामा कुनै परिवर्तन आउन सक्दैन,” विज्ञप्तिमा भनिएको छ।

सेनाविरुद्धको प्रचार–प्रसारको खण्डन

विगत केही दिनयता सामाजिक सञ्जालमा नेपाली सेनासम्बन्धी अनेक अड्कल र अराजक विश्लेषणहरू फैलिरहेको अवस्थामा सेनाले आफ्ना आधिकारिक गतिविधिहरूबारे स्पष्टिकरण दिएको हो। “हामी आफ्ना गतिविधिहरू नियमित रूपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रममार्फत सार्वजनिक गर्दै आएका छौं। सेनासम्बन्धी कुनै पनि आधिकारिक जानकारी लिनका लागि नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गर्न अनुरोध गर्दछौं,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

संविधान र गणतन्त्रप्रति पूर्ण प्रतिबद्धता

सेनाले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति आफ्नो निष्ठा स्पष्ट गर्दै कुनै पनि भ्रामक प्रचारमा नपर्न आम नागरिकलाई आग्रह गरेको छ। “नेपाली सेना लोकतान्त्रिक मूल्य–मान्यताप्रति पूर्ण प्रतिबद्ध छ। कुनै पनि गलत सूचना वा अफवाहमा नफस्न हामी सबैलाई अपिल गर्छौं,” सेनाले भनेको छ।

यस विज्ञप्तिसँगै नेपाली सेनाले आफ्ना भूमिकालाई लिएर भइरहेका भ्रमहरू चिर्न खोजेको देखिन्छ। अब यसको प्रभाव कत्तिको रहन्छ भन्ने भने आगामी दिनमा देखिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *