भारतमा भएको नेपाली विद्यार्थीको मृत्युविरुद्ध जनकपुरमा न्यायको माग गर्दै रैली र श्रद्धाञ्जली सभा

Share on Social Media

जनकपुरधाम, फागुन ७ – भारतको ओडिशास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा निधन भएकी नेपाली छात्रा प्रकृति लम्सालको स्मृतिमा जनकपुरधाममा श्रद्धाञ्जली सभा तथा न्यायको माग गर्दै रैली निकालिएको छ। नेपाल विद्यार्थी संघ, धनुषा क्षेत्र नम्बर ३ को अगुवाइमा आयोजित कार्यक्रममा विद्यार्थी हरु सहभागी जनाएका थिए।

विद्यार्थीहरूको आवाज
केआईआईटी विश्वविद्यालयबाट फर्किएका केही नेपाली विद्यार्थीहरूले श्रद्धाञ्जली सभामा आफ्नो पीडा व्यक्त गर्दै, भारतमा नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि नेपाल सरकारले कूटनीतिक पहल गर्नुपर्ने माग राखेका छन्। “हामीले सुरक्षित वातावरणको आशा गरेका थियौं, तर घटनापछि विश्वविद्यालय प्रशासनको व्यवहारले झन् डर पैदा गर्यो,” एक विद्यार्थीले बताए।

न्यायको माग गर्दै रैली
नेपाल विद्यार्थी संघ, धनुषा क्षेत्र नम्बर ३ को नेतृत्वमा आयोजित श्रद्धाञ्जली सभापछि प्रदर्शनकारीहरूले जनकपुरधामको प्रमुख बजार परिक्रमा गर्दै ‘प्रकृतिलाई न्याय दे’, ‘विद्यार्थीहरूको सुरक्षाको ग्यारेन्टी गर’ जस्ता नारा लगाएका थिए। विद्यार्थी संघका नेताहरूले नेपाली सरकारलाई भारतीय अधिकारीहरूसँग तत्काल संवाद गर्न र नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि ठोस कदम चाल्न आग्रह गरे।

सरकारलाई आग्रह
विद्यार्थी अधिकारका लागि क्रियाशील विभिन्न संगठनहरूले नेपाल सरकारलाई गम्भीर ध्यान दिन अनुरोध गर्दै, दोषीमाथि निष्पक्ष छानबिन गर्न र भविष्यमा यस्ता घटनाबाट बच्न नीति निर्माण गर्न माग गरेका छन्। साथै, सरकारले भारतीय विश्वविद्यालयहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरूको अवस्था अनुगमन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएका छन्।

नेपाल-भारतबीच शैक्षिक सहकार्यलाई असर पार्न सक्ने यो घटनामा विद्यार्थीहरूले चासो देखाएका छन्। नेपाल विद्यार्थी संघ, धनुषा क्षेत्र नम्बर ३ ले भविष्यमा थप आन्दोलन गर्ने चेतावनी दिएको छ, यदि सरकार र सम्बन्धित निकायले उचित पहल नगरेमा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *