निर्वाचन सुरक्षा समितिको बैठक सकियो : रौतहट र वीरगञ्जको झडपपछि सुरक्षा व्यवस्था थप मजबुत पारिँदै

काठमाडौँ ।
आगामी निर्वाचनको सुरक्षा तयारी र विभिन्न स्थानमा देखिएका अशान्तिका घटनाबारे समीक्षा गर्न निर्वाचन आयोगमा उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक सम्पन्न भएको छ। बैठकले देशभरको समग्र सुरक्षा अवस्थाको मूल्यांकन गर्दै संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाउने निर्णय गरेको छ।
कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा बसेको बैठकमा गृहसचिव तथा चारवटै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो। छलफलका क्रममा विशेषगरी मधेस प्रदेशअन्तर्गत रौतहट र वीरगञ्जमा पछिल्ला दिनमा भएका झडपका घटनालाई गम्भीर रूपमा लिइएको छ।


रौतहटमा विभिन्न समूहबीचको विवाद हिंसात्मक बनेको र वीरगञ्जमा ढुङ्गामुढा तथा प्रदर्शनका कारण स्थिति तनावग्रस्त बनेपछि निर्वाचन सुरक्षामा थप चुनौती देखिएको निष्कर्ष बैठकले निकालेको छ। यी घटनाले निर्वाचनको वातावरण प्रभावित पार्न सक्ने जोखिम औँल्याउँदै ती क्षेत्रलाई ‘अति संवेदनशील’ सूचीमा राखी अतिरिक्त सुरक्षा बल परिचालन गर्ने तयारी गरिएको जनाइएको छ।
बैठकमा सीमावर्ती तथा झडप भएका जिल्लामा सुरक्षा फौजको उपस्थिति बढाउने, गस्ती तथा निगरानी सुदृढ गर्ने र सम्भावित अवाञ्छित गतिविधि रोक्न विशेष कार्ययोजना बनाउने विषयमा समेत निर्णय गरिएको छ। साथै सामाजिक सञ्जालमार्फत फैलाइने भ्रमपूर्ण तथा उत्तेजक सूचनामाथि कडा निगरानी राख्ने र आवश्यक परे कानुनी कारबाही अघि बढाउने विषयमा पनि छलफल भएको थियो।
स्थानीय स्तरमा उत्पन्न हुन सक्ने विवादलाई तत्काल नियन्त्रणमा लिन र निर्वाचन बिथोल्ने प्रयास गर्ने तत्वलाई कानुनी दायरामा ल्याउन सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिइने बताइएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन समन्वित सुरक्षा रणनीति अवलम्बन गरिने आयोगले जनाएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *