काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ । आर्थिक वर्ष २०८२/८३ सम्म देशभर दर्ता भएका विद्युतीय सवारीसाधनको संख्या ६३ हजार २८० पुगेको छ ।
पूर्वाधार विकास मन्त्रालयले तयार पारेको ‘राष्ट्रिय यातायात नीति–२०८३’ अनुसार पछिल्लो एक दशकमा विद्युतीय सवारीको प्रयोग बढ्दै जाँदा यसको दर्ता संख्या पनि उल्लेख्य रूपमा वृद्धि भएको हो ।
नीतिमा नेपालमा नयाँ आयात हुने निजी कारमध्ये विद्युतीय सवारीको हिस्सा ७० प्रतिशतभन्दा बढी रहेको उल्लेख छ । कर तथा वित्तीय प्रोत्साहन, सहज फाइनान्सिङलगायतका कारण विद्युतीय सवारीको आयात तीव्र रूपमा बढेको मन्त्रालयको निष्कर्ष छ ।
नयाँ सवारीसाधन बिक्रीमा विद्युतीय सवारीको बजार हिस्साका आधारमा नेपाल विश्वमै दोस्रो स्थानमा रहेको नीतिमा उल्लेख छ । पहिलो स्थानमा नर्वे रहेको जनाइएको छ ।
विद्युतीय सवारीको बढ्दो प्रयोगले पेट्रोलियम पदार्थको आयात घटाउन तथा नेपालमै उत्पादित विद्युत्को उपयोग बढाउन सहयोग पुगेको नीतिमा उल्लेख छ ।
तर विद्युतीय सवारीको संख्या र प्रयोग बढे पनि त्यसअनुसार चार्जिङ पूर्वाधार, ब्याट्री व्यवस्थापन, सुरक्षा मापदण्ड र रिसाइकल प्रणाली पर्याप्त रूपमा विकास हुन नसकेको नीतिले औंल्याएको छ ।
यातायात व्यवस्था विभागका निर्देशक मणिराम भुसालका अनुसार पछिल्ला ८–१० वर्षमा विद्युतीय सवारीको दर्ता उल्लेख्य रूपमा बढेको छ । दर्ता भएका विद्युतीय सवारीमा स्कुटरसहित चारपांग्रे सवारीको संख्या बढी रहेको उनले बताए ।
यता, सवारीसाधनको आयात र प्रयोगकर्ता बढिरहे पनि त्यसअनुसार सडक पूर्वाधार विकास हुन नसकेको व्यवसायीको भनाइ छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष ध्रुव थापाले विद्युतीय सवारीको बढ्दो संख्याअनुसार सडक तथा अन्य पूर्वाधार विकास हुन नसकेको बताएका छन् ।
तीव्र सहरीकरण, आर्थिक गतिविधिको विस्तार र सवारीसाधनको बढ्दो संख्याका कारण नेपालको यातायात प्रणाली संक्रमणको चरणमा प्रवेश गरेको राष्ट्रिय यातायात नीति–२०८३ मा उल्लेख छ ।
