जनकपुरधाम । जानकी मन्दिरलाई समेत समेटेर परिक्रमा सडकका विभिन्न क्षेत्रलाई चार किल्ला तोकी संरक्षित क्षेत्र घोषणा गरेपछि मन्दिरको नियमित भौतिक काम र आगामी विवाहपञ्चमी महोत्सवको तयारी प्रभावित भएको छ।
जनकपुरधाममा आयोजना हुने प्रमुख धार्मिक तथा सांस्कृतिक उत्सव विवाहपञ्चमी नजिकिँदै गए पनि मन्दिरको रंगरोगन, सौन्दर्यीकरण तथा अन्य भौतिक काम अघि बढ्न सकेको छैन।
गुठी संस्थान, पुरातत्व विभाग र नेपाली सेनाको प्रकौलीस्थित गणले मन्दिरमा भौतिक संरचनासम्बन्धी काम नगर्न महन्त रामतपेश्वर दास वैष्णवलाई जानकारी गराएका छन्। सम्बन्धित निकायको निर्देशनपछि महन्तले पनि भौतिक काम रोकिएको बताएका छन्।
विगतका वर्षमा विवाहपञ्चमीको तयारीका लागि महन्तले सर्वपक्षीय बैठक बोलाएर विभिन्न पक्षलाई जिम्मेवारी दिने गरेका थिए। तर यस वर्ष सरकारी निकायबाट काम नगर्न निर्देशन आएकाले आफूहरू दैनिक पूजाआजाबाहेकका तयारीमा सक्रिय हुन नसकेको महन्त दासले बताएका छन्।
उनका अनुसार विवाहपञ्चमीअघि जानकी मन्दिरको रंगरोगन तथा विभिन्न भागको सौन्दर्यीकरण गर्न पर्याप्त समय लाग्छ। मन्दिरमा रहेका बुट्टाअनुसार फरक–फरक रंग प्रयोग गर्नुपर्ने भएकाले तयारीका लागि समय आवश्यक पर्ने उनले बताए।
मन्दिरको भित्री परिसरमा लगाइएका टायल्स उप्किन थालेका छन् भने बाहिरी परिसरका टायल्सको अवस्था पनि कमजोर रहेको बताइएको छ। मधेश प्रदेश सरकारले मन्दिर परिसर सुन्दर बनाउन टायल्स लगाए पनि सुरुदेखि नै टायल्स फुट्ने र उप्किने समस्या देखिएको जनाइएको छ।
त्यस्तै, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले विद्युतीकरणका क्रममा मन्दिरको मूल तथा बाहिरी संरचनामा प्वाल पारेको र वर्षाको पानी पर्दा मन्दिर निर्माणमा प्रयोग भएको सुर्खी बग्ने समस्या देखिएको बताइएको छ।
यसअघि पनि मन्दिरको छाना चुहिएको भन्दै पुरातत्व विभागले मर्मतका क्रममा हिल्टी प्रयोग गर्दा संरचनामा क्षति पुगेको भन्दै आलोचना भएको थियो।
संरक्षित क्षेत्र घोषणा गरिए पनि त्यसभित्र के गर्न हुने र के गर्न नहुने भन्ने विषयमा सरकारले अहिलेसम्म स्पष्ट नागरिक बडापत्र वा कार्यविधि सार्वजनिक गरेको छैन। संरक्षित क्षेत्रभित्र हुने कारोबार तथा भौतिक संरचनासम्बन्धी कामको मापदण्डसमेत स्पष्ट हुन बाँकी रहेको बताइएको छ।
जानकी मन्दिरको सञ्चालन परम्परागत गुरु–शिष्य प्रणालीअनुसार हुने वा सरकारले छुट्टै ट्रस्ट स्थापना गरेर सञ्चालन गर्ने भन्ने विषयसमेत टुंगो लाग्न सकेको छैन।
महन्त दासका अनुसार विवाहपञ्चमीका लागि मन्दिरको गर्भगृहमा रहेका भगवानका चाँदीका आभूषण मर्मत तथा थप गर्नुपर्ने छ। महोत्सवका क्रममा आसनलगायतका संरचनाको समेत सौन्दर्यीकरण गर्ने परम्परा रहे पनि सम्बन्धित निकायबाट काम नगर्न निर्देशन आएपछि आफूहरू अन्योलमा रहेको उनले बताए।
जानकी मन्दिर जनकपुरधामको धार्मिक तथा सांस्कृतिक पहिचानसँग मात्र नभई विश्वभरका सनातन धर्मावलम्बीको आस्थासँग जोडिएको धरोहर भएकाले संरक्षण र व्यवस्थापनका विषयमा स्पष्ट नीति आवश्यक रहेको स्थानीयको भनाइ छ।
सरकारले संरक्षित क्षेत्र घोषणा गर्नु सकारात्मक कदम भए पनि संरक्षणका नाममा मन्दिरका नियमित धार्मिक गतिविधि तथा परम्परागत व्यवस्थापन प्रभावित नहुने गरी स्पष्ट कार्यविधि र जिम्मेवारी निर्धारण गर्नुपर्ने देखिन्छ।
