जनकपुरधाम । मिथिलाञ्चलसहित तराई–मधेश क्षेत्रमा विशेष श्रद्धाका साथ मनाइने जितिया पर्व भोलिदेखि धार्मिक विधिअनुसार सुरु हुँदैछ। हिन्दू विवाहित महिलाले पति तथा सन्तानको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्दै मनाउने यो पर्व मिथिलाको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा परिचित छ।
जितिया पर्व प्रत्येक वर्ष असोज कृष्णपक्ष सप्तमीदेखि नवमीसम्म तीन दिन मनाउने गरिन्छ। पर्वको पहिलो दिन सप्तमीमा ‘नहा–खा’ अर्थात् नुहाएर खाने विधिबाट पर्व सुरु हुन्छ।
नहा–खाका दिन व्रतालु महिलाहरू बिहानै नदी, पोखरी तथा अन्य जलाशयमा स्नान गरी शुद्ध हुन्छन्। त्यसपछि घिरौँलाको पातमा पिना, तेल र सिन्दुर राखेर भगवान् जितमाहनको पूजा गर्ने परम्परा छ। पूजा सम्पन्न गरेपछि व्रतालु तथा परिवारका सदस्यले स्थानीय परम्पराअनुसार कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ। यसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ पनि भनिन्छ।
जितिया पर्वको दोस्रो दिन अर्थात् अष्टमीलाई मुख्य व्रतको दिन मानिन्छ। यस दिन महिलाहरू सन्तानको दीर्घायु र पारिवारिक सुख–शान्तिको कामना गर्दै २४ घण्टासम्म निराहार उपवास बस्ने गर्छन्। व्रतालुहरूले भगवान् जितमाहनको पूजा गर्नुका साथै जितिया व्रतसँग सम्बन्धित धार्मिक कथा सुन्ने परम्परा पनि छ।
अष्टमीको व्रतपछि नवमीका दिन पर्वको समापन गरिन्छ। नवमीमा पुनः नदी, पोखरी वा अन्य जलाशयमा स्नान गरी व्रतालुहरू घर फर्कन्छन्। घरमा चौका लगाएर चिउरा, दही, सखरलगायतका सामग्रीबाट प्रसाद तयार गरी अर्घ्य दिएपछि विधिपूर्वक व्रत समापन गर्ने परम्परा छ।
जितिया पर्व विशेषगरी सन्तानको दीर्घायु, सन्तान प्राप्ति तथा परिवारको सुख, शान्ति र समृद्धिको कामनासँग जोडिएको छ। मिथिला समाजमा यसको धार्मिक आस्थासँगै सांस्कृतिक महत्व पनि गहिरो रहेको पाइन्छ।
जितिया पर्वसँग जोडिएका विभिन्न लोककथा, पूजा विधि, खानपान र संस्कारले मिथिलाको मौलिक संस्कृति तथा परम्परालाई पुस्तौंदेखि निरन्तरता दिँदै आएका छन्। पर्वका अवसरमा माइती तथा ससुराली पक्षका महिला तथा आफन्तबीच भेटघाट हुने भएकाले यसले पारिवारिक तथा सामाजिक सम्बन्धलाई समेत बलियो बनाउने गरेको छ।
जानकारहरूका अनुसार जितिया पर्वमा धार्मिक र सांस्कृतिक पक्षसँगै तान्त्रिक परम्पराको प्रभावसमेत पाइन्छ। भगवान् जितमाहनप्रतिको आस्था, व्रत, पूजा तथा विभिन्न लोकविश्वास यस पर्वका प्रमुख विशेषता हुन्।
मिथिलाञ्चलमा जितिया आउनुअघि नै घरघरमा आवश्यक सामग्रीको तयारी सुरु हुन्छ। विशेषगरी व्रतका लागि आवश्यक पूजा सामग्री, प्रसाद तथा परम्परागत खानाका परिकारको तयारी गरिन्छ। नदी, पोखरी तथा जलाशयमा स्नान र पूजा गर्ने भएकाले पर्वले मिथिलाको पुरानो जलाशय तथा धार्मिक स्थलसँगको सम्बन्धलाई पनि निरन्तरता दिँदै आएको छ।
तीन दिनसम्म विभिन्न धार्मिक विधि र परम्पराका साथ मनाइने जितिया पर्वले मिथिलाको धार्मिक आस्था, मातृत्वको भावना, पारिवारिक सम्बन्ध र मौलिक सांस्कृतिक पहिचानलाई एकसाथ जोड्ने गरेको छ।
