जनकपुर सहित तराई मधेसका विभिन्न स्थानहरूमा पर्व छठ सम्पन्न


जनकपुरधाम । तराई–मधेसका विभिन्न स्थानमा व्रतालुहरूले मंगलबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएसँगै चैते छठ पर्वको मुख्य अनुष्ठान सम्पन्न भएको छ । बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको चैते छठ औपचारिक रूपमा सम्पन्न हुने भएको छ ।
जनकपुरधाम, जलेश्वर, मलङ्गवा तथा वीरगञ्जसहित तराईका प्रमुख शहरहरूका छठ घाटहरूमा मंगलबार साँझ व्रतालु तथा भक्तजनको ठूलो भीड लागेको थियो । विशेष गरी जनकपुरधामको गंगासागर, जलेश्वरका विभिन्न पोखरी, मलङ्गवाको बागमती किनार तथा वीरगञ्जका घडीअर्वा, नगवा, मुर्ली र रानिघाट क्षेत्रमा श्रद्धालुहरूको उल्लेख्य सहभागिता देखिएको थियो ।
व्रतालुहरूले बाँसको सुपुलीमा नरिवल, केरा, अदुवा, ठेकुवा, दुध, फलफूललगायत सामग्री राखेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका थिए । घाटहरूमा विद्युत् बत्ती, तोरण, धूप–दीप र फूलमालाले सजावट गरिएको थियो भने भजन–कीर्तन तथा छठ गीतले धार्मिक वातावरण झन् उत्साहित बनाएको थियो ।
छठ पर्वको विधि अनुसार व्रतालुहरूले तीन दिनदेखि शुद्ध र सात्त्विक भोजन गर्ने ‘नहाखाय’बाट सुरु गरेर दुध, गुड र चामलबाट बनाइएको खिर तथा रस्याउ खाने परम्परा पूरा गरेका थिए । मंगलबार निर्जल निराहार व्रत बसेका व्रतालुहरूले बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि मात्रै प्रसाद ग्रहण गरेर व्रत समापन गर्नेछन् ।
तराई क्षेत्रमा कात्तिके छठको तुलनामा चैते छठमा कम व्रतालु हुने परम्परा रहे पनि पछिल्ला केही वर्षयता चैते छठ मान्नेहरूको संख्या बढ्दै गएको स्थानीयहरूले बताएका छन् । भाकल गरेका श्रद्धालु तथा परिवारको सुख–समृद्धि, सन्तानको दीर्घायु र स्वास्थ्यको कामना गर्दै व्रत बस्ने परम्परा अझै कायम छ ।
विशुद्ध रूपमा तराई–मधेसको सांस्कृतिक पहिचानसँग जोडिएको छठ पर्व अहिले पहाडी समुदायले पनि श्रद्धा र विधिपूर्वक मनाउन थालेपछि यो पर्व धार्मिक सहिष्णुता र सांस्कृतिक एकताको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ । जनकपुर, जलेश्वर, मलङ्गवा, वीरगञ्जलगायत तराईका अधिकांश स्थानमा छठ पर्व शान्तिपूर्ण र भव्य रूपमा सम्पन्न भएको स्थानीय प्रशासनले जनाएको छ ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *