वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालले रु १ खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा इन्धन आयात वृद्धि भएको हो।
भन्सार कार्यालयका अनुसार पेट्रोलियम पदार्थ आयातबाट मात्र सात महिनामा रु ५२ अर्ब १५ करोड राजस्व संकलन भएको छ।
यस अवधिमा सबैभन्दा धेरै आयात डिजेलको भएको छ। सात महिनामा रु ६३ अर्ब ६५ करोड बराबरको सात लाख दुई हजार ३०० किलोलिटर डिजेल आयात गरिएको छ।
त्यस्तै, सोही अवधिमा रु २५ अर्ब ३० करोड बराबरको दुई लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल आयात भएको छ भने रु २० अर्ब ८५ करोड बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलोग्राम एलपी ग्यास आयात भएको भन्सार कार्यालयले जनाएको छ।
पछिल्लो समय सवारीसाधनको संख्या बढ्दै जाँदा डिजेल र पेट्रोलको माग बढेको र त्यसको असर आयातमा पनि देखिएको भन्सार स्रोतले जनाएको छ।
चालु आवको सात महिनामा रु १ खर्ब २३ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात