अमेरिका का राष्ट्रपति Donald Trump ले Iran परमाणु हतियार नबनाउने सहमतिमा पुगेको दाबी गरेका छन्।
मिडियासँग कुरा गर्दै ट्रम्पले इरान अहिले “सही ढंगले कुरा गरिरहेको” भन्दै उसले परमाणु हतियार नबनाउने अमेरिकी माग स्वीकार गरेको बताएका छन्। पछिल्ला दिनहरूमा अमेरिकासँगको तनाव चर्किरहेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो।
अमेरिकी प्रशासनले द्वन्द्व अन्त्य गर्न व्यापक प्रस्ताव तयार गरिरहेको बताइएको छ। उक्त प्रस्तावमा मुख्य रूपमा इरानको परमाणु कार्यक्रमलाई नियन्त्रण गर्ने, क्षेत्रीय सुरक्षा र नयाँ वार्ताको सम्भावनालाई प्राथमिकता दिइएको जनाइएको छ।
तर ट्रम्पको दाबीबारे इरानले आधिकारिक रूपमा कुनै पुष्टि गरेको छैन। इरानी अधिकारीहरूले अहिलेसम्म अमेरिका र इरानबीच औपचारिक सहमति भएको सार्वजनिक रूपमा घोषणा गरेका छैनन्। यद्यपि अन्तर्राष्ट्रिय मध्यस्थकर्तामार्फत अप्रत्यक्ष वार्ता भइरहेको बताइएको छ।
इरानको परमाणु कार्यक्रम लामो समयदेखि विश्व राजनीतिको सबैभन्दा संवेदनशील विषयमध्ये एक मानिँदै आएको छ। पछिल्ला समयहरूमा बढ्दो सैन्य र कूटनीतिक तनावका कारण यो मुद्दा अझै गम्भीर बन्दै गएको छ।
इरानले परमाणु हतियार नपाउने सहमतिमा पुग्यो: ट्रम्प