जलेश्वर । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अपराध तथा अवैध गतिविधि नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन निर्देशन दिएका छन्।
मधेश प्रदेशस्थित नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरी तथा मातहतका गण, गुल्म, बोर्डर आउट पोस्ट र सुरक्षा बेसमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई आईजीपी पौडेलले यस्तो निर्देशन दिएका हुन्।
निरीक्षणका क्रममा उनले सम्बन्धित सरोकारवाला निकाय तथा सीमावर्ती स्थानीय बासिन्दासँग सीमा सुरक्षा र समसामयिक विषयमा भइरहेका कामकारबाहीबारे जानकारी लिएका थिए।
आईजीपी पौडेलले सीमा क्षेत्रमा हुने अवैध गतिविधिको प्रभावकारी निगरानी, नियन्त्रण तथा रोकथामलाई थप सुदृढ गर्न निर्देशन दिए। उनले सीमा सुरक्षामा उच्च सतर्कता अपनाउँदै सम्बन्धित निकायसँग प्रभावकारी समन्वय र जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्न मातहतका कमाण्डरलाई निर्देशन दिएका छन्।
सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सीमावर्ती समुदायबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा समेत उनले जोड दिएका छन्।
