काठमाडौँ,
काठमाडौँ उपत्यकाका चार लोकेश्वरमध्ये सद्भावका देवताका रूपमा पूजिने सेतो मच्छिन्द्रनाथलाई रथयात्रा सम्पन्न भएपछि पुनः मन्दिरमा प्रतिस्थापन गरिएको छ।
सोमबार साँझ रथयात्राको क्रममा लगन पुर्याइएको आर्यावलोकितेश्वरको मूर्तिलाई रथबाट निकालेर खटमा राखी विभिन्न स्थान हुँदै मच्छिन्द्रबहाल पुर्याइएको थियो। लगन, ज्याबहाल, द्यःलं, यूतुननी, कोहिटी भीमसेनस्थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिंह र केलटोल हुँदै मूर्ति मन्दिरमा पुनः प्रतिस्थापन गरिएको हो।
चैते दसैँको अवसरमा सुरु हुने सेतो मच्छिन्द्रनाथको रथयात्रा हरेक वर्ष चैत्र शुक्ल अष्टमीदेखि सुरु हुने परम्परा छ। यस वर्षको रथयात्रा बिहीबार जमलबाट सुरु भएर असन, हनुमानढोका दरबार क्षेत्र हुँदै लगनटोलसम्म तानिएको थियो। लगनटोल पुगेको भोलिपल्ट आमा रुखको परिक्रमा गराउने परम्परा पनि रहेको छ।
इतिहासअनुसार राजा शिवसिंह मल्लले नेवार संवत् ७०८ देखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु गराएको मानिन्छ। करुणामय सेतो मच्छिन्द्रनाथको मूर्ति भेटिएको स्थान जमलबाट चैत्र शुक्ल अष्टमीका दिन रथमा राखेर जात्रा निकाल्ने परम्परा त्यही समयदेखि चलिआएको विश्वास गरिन्छ।
सेतो मच्छिन्द्रनाथको जात्रा धार्मिक सहिष्णुता र सामाजिक सद्भावको प्रतीकका रूपमा परिचित छ। हिन्दु र बौद्ध धर्मावलम्बीले समान आस्थाका साथ पूजा गर्ने परम्परा परापूर्वकालदेखि चलिआएको छ।
