जनकपुरधाम — अत्यन्त पिछडिएका तथा सीमान्तकृत किशोरी र युवतीहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन भइरहेको “She Leads: Life Skills and Livelihoods Support for Most Marginalized Girls in Nepal” परियोजनाको वार्षिक संयुक्त अनुगमन कार्यक्रम सम्पन्न भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख, विभिन्न वडाका वडा अध्यक्ष तथा सरोकारवालाको सहभागितामा मार्च महिनाको अन्तिम साता उक्त अनुगमन गरिएको हो। परियोजना जानकी महिला जागरण समाज (JWAS) मार्फत सञ्चालन भइरहेको छ भने Street Child को प्राविधिक तथा आर्थिक सहयोग रहेको छ ।
अनुगमन टोलीले विभिन्न समुदायमा पुगेर परियोजनाबाट लाभ लिएका किशोरी तथा युवतीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्नुका साथै उनीहरूले सञ्चालन गरेका आयआर्जनसँग सम्बन्धित गतिविधिको अवलोकन गरेको थियो ।
सो परियोजनाले पहिलो चरणमा १५ देखि २५ वर्ष उमेर समूहका ४२५ जना विवाहित युवती तथा महिलालाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरेको जानकारी दिइएको छ ।
परियोजनाअन्तर्गत सहभागीहरूले पाँच महिनाको जीवनोपयोगी सीप तालिम, दुई महिनाको वित्तीय साक्षरता शिक्षा प्राप्त हुनुका साथै व्यवसायको विकास एवं सञ्चालनका लागि आवश्यक सहयोग प्राप्त गरेका छन् । त्यसपछि उनीहरूलाई आफ्नै समुदायमा सानो व्यवसाय सुरु गर्न आर्थिक सहयोग पनि प्रदान गरिएको हो ।
परियोजनाबाट लाभान्वित महिलाहरूले सिलाइ–कटाइ, किराना पसल, ब्यूटीपार्लर, कस्मेटिक पसल तथा पशुपालन (गाई भैसी बाख्रा सुँगुर पालन) जस्ता साना व्यवसाय सञ्चालन गर्दै आएका छन् । यसले उनीहरूको आर्थिक आत्मनिर्भरता बढाएको मात्र होइन, सामाजिक सहभागितामा समेत सकारात्मक परिवर्तन देखिएको छ।

अनुगमनका क्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले परियोजनाबाट समुदायमा देखिएको सकारात्मक प्रभावको प्रशंसा गर्दै महिलाको आर्थिक सशक्तीकरण र आत्मनिर्भरता बढाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका छन् । साथै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख साहले यस्ता कार्यक्रमलाई आवश्यक सहयोग गर्न पालिका तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
परियोजना कार्यान्वयनका क्रममा केही चुनौतीहरू पनि देखिएको जनाएको छ । विशेषगरी साना बच्चा भएका तथा नयाँ विवाहित महिलाको नियमित सहभागिता सुनिश्चित गर्न कठिनाइ भएको तथा एउटै क्षेत्रमा समान प्रकारका साना व्यवसाय धेरै सञ्चालन हुँदा प्रतिस्पर्धा बढ्ने समस्या देखिएको अनुगमन टोलीले उल्लेख गरेको छ ।

समग्रमा ‘She Leads’ परियोजनाले लक्षित महिलाको जीवनस्तर सुधार, आत्मविश्वास वृद्धि तथा नेतृत्व क्षमता विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । आगामी दिनमा यस्ता कार्यक्रम विस्तार गर्न सके महिलाको दीर्घकालीन आर्थिक तथा सामाजिक सशक्तीकरणमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
