Popular Posts

सबैलामा बालिका हिंसा न्यूनीकरण र सुरक्षाबारे सचेतनामूलक छलफल

बालविवाह, दाइजो, दुर्व्यवहार तथा मानव बेचबिखनको जोखिमबारे समुदायलाई सचेत गराइयो

जनकपुरधाम, २५ साउन । धनुषाको सबैला नगरपालिका–९ मा बालिका सुरक्षा तथा हिंसा न्यूनीकरणसम्बन्धी सचेतनामूलक छलफल कार्यक्रम सम्पन्न भएको छ।

प्लान इन्टरनेशनल नेपालको साझेदारीमा जानकी महिला जागरण समाजको आयोजना तथा सबैला नगरपालिका–९ को समन्वयमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा समुदायमा बालिका तथा किशोरीले सामना गर्नुपर्ने सम्भावित जोखिम, हिंसा, दुर्व्यवहार, बालविवाह, दाइजो प्रथा तथा मानव बेचबिखनका विषयमा छलफल गरिएको थियो।

बालिका सुरक्षाका सम्भावित जोखिमबारे छलफल

कार्यक्रममा हिंसा र दुर्व्यवहारलाई कसरी पहिचान गर्ने, बालिका तथा किशोरीमाथि हुन सक्ने जोखिम के–कस्ता छन् र त्यस्ता घटना हुन नदिन परिवार तथा समुदायले के भूमिका निर्वाह गर्न सक्छ भन्ने विषयमा सहभागीहरूसँग अन्तरक्रिया गरिएको थियो।

विशेषगरी घर, समुदाय, विद्यालय तथा सार्वजनिक स्थानमा हुने गलत व्यवहारलाई समयमै पहिचान गरी सम्बन्धित निकायलाई जानकारी गराउन सके हिंसा तथा दुर्व्यवहारका घटना न्यूनीकरण गर्न सकिने विषयमा जोड दिइएको थियो।

कार्यक्रममा हिंसा तथा दुर्व्यवहारसम्बन्धी सचेतनामूलक भिडियोसमेत प्रदर्शन गरिएको थियो।

सामाजिक सञ्जाल प्रयोगमा पनि सावधानी आवश्यक

छलफलका क्रममा किशोरी तथा बालिकालाई लक्षित गरी हुन सक्ने विभिन्न प्रकारका जोखिमबारे सहभागीलाई जानकारी गराइएको थियो।

एक–अर्कालाई नराम्रा शब्द प्रयोग गरी होच्याउनेदेखि अपरिचित व्यक्तिले ललाई–फकाई तथा विभिन्न प्रलोभन देखाएर बालिका तथा किशोरीलाई बेचबिखनमा लैजान सक्ने जोखिमबारे चर्चा गरिएको थियो।

त्यसैगरी इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोग गर्दा अपरिचित व्यक्तिसँग सम्पर्क बढाउने, व्यक्तिगत विवरण तथा तस्बिर आदानप्रदान गर्ने तथा अनलाइन माध्यमबाट हुने दुर्व्यवहारजस्ता जोखिमबाट सचेत रहन आग्रह गरिएको थियो।

बालविवाह र दाइजो न्यूनीकरणमा समुदायको भूमिका

कार्यक्रममा बालविवाह तथा दाइजो प्रथाले बालिका र महिलाको जीवनमा पार्ने नकारात्मक प्रभावबारे पनि छलफल गरिएको थियो।

समुदायमा हुने गलत अभ्यासलाई समयमै पहिचान गरी परिवार, विद्यालय, समुदाय तथा सम्बन्धित निकायले सामूहिक रूपमा पहल गर्न सके बालविवाह, हिंसा, दुर्व्यवहार र दाइजो प्रथा न्यूनीकरण गर्न सकिने बताइएको थियो।

विशेषगरी बालिकाको सुरक्षा र अधिकार सुनिश्चित गर्न अभिभावक, किशोरी, युवा, महिला तथा स्थानीय जनप्रतिनिधिबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।

आपत्कालीन अवस्थामा निःशुल्क उजुरी गर्न सकिने

कार्यक्रममा हिंसा, दुर्व्यवहार, बालविवाह वा अन्य जोखिमपूर्ण घटना भएमा पीडित वा प्रभावित व्यक्तिले सम्बन्धित निकायमा तत्काल जानकारी गराउन सक्ने विषयमा पनि जानकारी दिइएको थियो।

आपत्कालीन अवस्थामा निम्न नम्बरमा निःशुल्क फोन गरी उजुरी तथा सहयोग लिन सकिने जानकारी सहभागीलाई दिइएको थियो :

  • बाल हेल्पलाइन : १०९८
  • नेपाल प्रहरी : १००
  • प्लान इन्टरनेशनल नेपाल : १६६००१३५५८०
  • जानकी महिला जागरण समाज : १८१०५००००५८

समयमै सूचना तथा उजुरी गर्न सके हिंसा तथा दुर्व्यवहारका घटनालाई थप गम्भीर हुनबाट रोक्न सकिने बताइएको थियो।

विपन्न परिवारलाई लक्षित गरी कार्यक्रम

कार्यक्रम सबैला नगरपालिका–९ अन्तर्गत कुस्माहा भठियन टोलका अति विपन्न परिवारलाई लक्षित गरी आयोजना गरिएको थियो।

कार्यक्रममा समुदायका किशोरी, युवा महिला तथा वडा प्रतिनिधिसहित करिब ५० जनाको सहभागिता रहेको थियो।

जानकी महिला जागरण समाजकी कार्यक्रम संयोजक तथा सामाजिक अगुवा पुनम कुमारी साहले कार्यक्रमको सहजीकरण गरेकी थिइन्।

‘सशक्त बालिका’ परियोजनामार्फत बालविवाह न्यूनीकरणमा पहल

जानकी महिला जागरण समाजले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा विगत दुई वर्षदेखि ‘सशक्त बालिका’ परियोजना सञ्चालन गर्दै आएको छ।

धनुषाका पाँचवटा स्थानीय तहमा सञ्चालन भइरहेको परियोजनाको मुख्य उद्देश्य बालविवाह न्यूनीकरण तथा बालिका र किशोरीको सुरक्षा र सशक्तीकरण रहेको आयोजकले जनाएको छ।

परियोजनाअन्तर्गत समुदायस्तरमा सचेतना, छलफल तथा अन्तरक्रियालगायतका विभिन्न गतिविधि सञ्चालन हुँदै आएका छन्। यस्ता कार्यक्रमले बालिका तथा किशोरीलाई आफ्ना अधिकार, सम्भावित जोखिम र सहयोग प्राप्त गर्ने माध्यमबारे जानकारी दिनुका साथै समुदायलाई पनि बाल संरक्षणका विषयमा जिम्मेवार बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *