काठमाडौँमा चिरोत्थानसँगै होली पर्व शुभारम्भ

काठमाडौं ।

देशको राजधानीको वसन्तपुर दरबार क्षेत्र मा चिरोत्थान गरिएसँगै आजदेखि देशभर होली पर्व औपचारिक रूपमा सुरु भएको छ। मङ्गलबार बिहान ७ः१३ बजेको शुभ साइतमा तीन छत्रे होलीको चीर ठड्याइएपछि पर्वको शुभारम्भ भएको हो।
फागुन शुक्ल अष्टमीका दिन रङ्गीचङ्गी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याउने परम्परा रहेको छ। करिब ३० फिट अग्लो चीरमा रङ्गीचङ्गी कपडाका टुक्रा झुन्ड्याइएका थिए। राजधानीको धालसिक्व टोलका मानन्धर समुदायले चीर ठड्याउने जिम्मा निर्वाह गरेका हुन्।


चीर उठाइएको दृश्य अवलोकन गर्न स्वदेशीका साथै विदेशी पर्यटकहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो। वसन्तपुर क्षेत्र बिहानैदेखि दर्शकले भरिएको थियो।
नेवारी परम्पराअनुसार यसलाई ‘चिर स्वायगू’ भनिन्छ। पूर्णिमाको रात चीर ढालेर टुँडिखेल मा पुर्‍याई दहन गरेपछि होली पर्व औपचारिक रूपमा समापन हुने चलन छ।
होली पर्वलाई आपसी सद्भाव, मेलमिलाप र रङ्गहरूको उत्सवका रूपमा मनाउने गरिन्छ। चिरोत्थानसँगै काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा फागु पर्वको रौनक बढ्न थालेको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *