तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश

काठमाडौं – विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा मुछिएका तीन पूर्वसचिवसहित पाँच जनालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने अवस्था नदेखिएको ठहर गर्दै धरौटी नलिई नियमित उपस्थित हुने शर्तमा रिहा गर्ने आदेश दिएको हो।
रिहा हुनेमा पूर्वसचिव मधुकुमार मरासिनी, मोहनकृष्ण सापकोटा, सुमनप्रसाद शर्मा, पूर्वउपसचिव प्रेमनाथ उपाध्याय तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन प्रबन्धक रामचन्द्र सुवेदी रहेका छन्। अदालतले उनीहरूलाई मुद्दाको सुनुवाइका क्रममा तोकिएको मितिमा उपस्थित हुने गरी साधारण तारिखमा छाड्ने निर्णय गरेको हो।


विशेष अदालत ऐन, २०५९ अनुसार अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने पर्याप्त आधार नदेखिएमा साधारण तारिखमा रिहा गर्न सकिने प्रावधान छ। अदालतले यही व्यवस्था अनुसार निर्णय सुनाएको जनाएको छ।
उक्त प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई भने यसअघि उच्च तहबाट थुनामा पठाउने निर्णय भएको थियो।
पोखरा विमानस्थल निर्माणमा ठूलो रकमको अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। मुद्दा हाल विशेष अदालतमा विचाराधीन रहेको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *