जिल्ला सुरक्षा समितिले आगामी निर्वाचनलाई शान्त, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्लाभरका खुद्रा तथा थोक मदिरा पसलहरू साँझ ७ बजेभित्र बन्द गर्न निर्देशन दिएको छ।
निर्णयअनुसार मदिरा बिक्री–वितरण गर्ने सबै पसलहरूले साँझ ७ बजेपछि सटर बन्द गर्नुपर्नेछ। होटल तथा रेस्टुरेन्टमा मदिरा सेवनको अनुमति पनि अधिकतम साँझ ८ बजेसम्म मात्र रहनेछ।

सुरक्षा समितिले इजाजतबिना सञ्चालन भइरहेका मदिरा पसलहरूलाई नियन्त्रणमा लिएर मदिरा जफत तथा नष्ट गर्ने र आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ। साथै, जिल्लाभर अनुगमनलाई कडाइका साथ सञ्चालन गरिने बताइएको छ।
यसैगरी, खाद्य सुरक्षा तथा उपभोक्ता हितसँग सम्बन्धित विषयमा पनि अनुगमन गर्ने निर्णय गरिएको छ। अत्यधिक रङ वा अखाद्य पदार्थ मिसाइएका मिठाइ बिक्री गर्ने तथा तौलमा कमी देखिने गरी बिक्री गर्ने व्यवसायमाथि कारबाही गरिने जनाइएको छ।
त्यस्तै, इजाजतबिना सुर्तीजन्य पदार्थ बिक्री गर्ने पसलहरूमा पनि कडा निगरानी र कानुनी कारबाही गरिनेछ। विद्यालय, स्वास्थ्य संस्था, बालकल्याण गृह तथा क्लबबाट कम्तीमा १०० मिटर दूरीभित्र सुर्तीजन्य पदार्थ बिक्री भएमा सम्बन्धित ऐनअनुसार आवश्यक कदम चालिने प्रशासनले स्पष्ट पारेको छ।
जिल्ला प्रशासनले यी निर्णयहरू निर्वाचनको सुरक्षासँगै सार्वजनिक शान्ति र उपभोक्ता हित सुनिश्चित गर्न आवश्यक भएको जनाएको छ।