Popular Posts

प्राकृतिक विपद्का बाबजुद नेपालमा पर्यटक आगमन १२.१ प्रतिशतले बढ्यो, चीनबाट दोब्बर

काठमाडौं । लगातार प्राकृतिक विपद्को सामना गरिरहेको नेपालमा विदेशी पर्यटक आगमनमा सुधार देखिएको छ। सन् २०२६ को सेप्टेम्बरमा ८८ हजार २४८ विदेशी पर्यटक नेपाल आएका छन्।

यो संख्या गत वर्षको सोही महिनाको तुलनामा १२.१ प्रतिशत बढी हो। सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल आएका थिए।

दक्षिण एसियाबाट पर्यटक आगमन २३.९ प्रतिशतले बढेर ३० हजार ८५ पुगेको छ। गत वर्ष सोही अवधिमा दक्षिण एसियाबाट २४ हजार २८५ पर्यटक आएका थिए।

दक्षिण एसियामा भारतबाट सबैभन्दा धेरै १७ हजार ४२५ पर्यटक आएका छन्। श्रीलंकाबाट ७ हजार १०८, बंगलादेशबाट ३ हजार ९६४ र भुटानबाट १ हजार १११ पर्यटक नेपाल आएका छन्।

चीनबाट दोब्बरभन्दा बढी पर्यटक

सेप्टेम्बरमा चीनबाट नेपाल आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ। गत वर्षको सेप्टेम्बरमा ५ हजार २३७ चिनियाँ पर्यटक नेपाल आएकोमा यस वर्ष ११ हजार २१२ पुगेका छन्।

यो गत वर्षको तुलनामा ११४.१ प्रतिशतको वृद्धि हो। त्यस्तै जापानबाट आउने पर्यटक पनि ४५.४ प्रतिशतले बढेर २ हजार ६६ पुगेका छन्।

युरोप र अमेरिकाबाट आगमन घट्यो

एसियाली बजारमा सुधार देखिए पनि युरोप र अमेरिकाबाट आउने पर्यटकको संख्या भने घटेको छ।

युरोपबाट सेप्टेम्बरमा १५ हजार १४८ पर्यटक आएका छन्। गत वर्ष सोही महिनामा युरोपबाट १६ हजार ५९७ पर्यटक आएका थिए।

युरोपेली मुलुकमध्ये बेलायतबाट आउने पर्यटक २५.२ प्रतिशतले घटेका छन्। गत वर्ष ४ हजार ९८१ बेलायती पर्यटक नेपाल आएकोमा यस वर्ष ३ हजार ७२५ आएका छन्।

अमेरिकाबाट पनि पर्यटक आगमन घटेको छ। गत वर्ष सेप्टेम्बरमा ११ हजार ५२३ अमेरिकी पर्यटक नेपाल आएकोमा यस वर्ष १० हजार १०७ आएका छन्।

अन्य क्षेत्रको अवस्था मिश्रित

एसियाका अन्य मुलुकबाट पर्यटक आगमन ५८ प्रतिशतले बढेर १९ हजार ८८८ पुगेको छ। तर आसियान क्षेत्रबाट आगमन २५.९ प्रतिशतले घटेर ५ हजार ४२२ मा सीमित भएको छ।

मध्यपूर्वबाट आउने पर्यटक भने ११.९ प्रतिशतले बढेका छन्। अफ्रिकी मुलुकबाट पनि पर्यटक आगमनमा वृद्धि भएको छ।

यसअघि अगस्टमा बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्को असरका कारण नेपाल आउने विदेशी पर्यटकको संख्या ३.६ प्रतिशतले घटेको थियो। सेप्टेम्बरमा भने पर्यटक आगमन पुनः वृद्धिको बाटोमा फर्किएको देखिएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *