काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति एवं शिक्षाविद् प्राडा. सुरेशराज शर्माको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
डा. शर्माको निधनमा शोक सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले आफू स्तब्ध भएको बताएका हुन् ।
राष्ट्रपतिको समवेदना सन्देश उनका प्रेस सल्लाहकार किरण पोखरेल र प्रमुख स्वकीय सचिव अवज्ञा पौडेलले बिहीबार शर्माका परिवारजनलाई हस्तान्तरण गरेका छन् ।
सन्देशमा राष्ट्रपति पौडेलले नेपालको शैक्षिक क्षेत्रको विकास र विस्तारमा डा. शर्माले पुर्याएको योगदानको स्मरण गरेका छन् । शिक्षालाई मुलुकको विकासको आधार मानेर उनले नीतिगत, प्राज्ञिक तथा भौतिक विकासलाई जीवनभर प्राथमिकता दिएको उल्लेख गर्दै उनको निधन नेपालको शैक्षिक क्षेत्रका लागि अपूरणीय क्षति भएको बताएका छन् ।
राष्ट्रपति पौडेलले डा. शर्माको शिक्षा क्षेत्रप्रतिको निष्ठा, लगाव र समर्पण भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वाससमेत व्यक्त गरेका छन्।
