लमजुङ । हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र बेंसीसहर–चामे सडक पाँच दिनदेखि बन्द हुँदा आवतजावत प्रभावित भएको छ।
गत शनिबार र आइतबार आएको बाढीपहिरोका कारण सडक अवरुद्ध भएपछि लमजुङ सदरमुकाम बेंसीसहरदेखि मनाङ सदरमुकाम चामे तथा चामेदेखि माथिल्लो मनाङको खाङसारसम्म यातायात सञ्चालन हुन सकेको छैन।
सडक बन्द हुँदा चक्रीय अन्नपूर्ण पदयात्रामा निस्किएका पर्यटकसँगै मनाङवासीसमेत प्रभावित भएका छन्। सडक अवरुद्ध भएपछि माथिल्लो मनाङतर्फ खाद्यान्न, विकास निर्माणका सामग्रीलगायत आवश्यक सामानको ढुवानी ठप्प भएको छ।
पाँच दिनदेखि ढुवानी प्रभावित भए पनि तत्काल खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको अभाव भने नरहेको मनाङ प्रशासनले जनाएको छ।
तल्लो मनाङको नासों गाउँपालिका–३ खोत्रोमा पहिरोका कारण अवरुद्ध सडक खुलाउन विष्फोटक पदार्थ प्रयोग गर्ने तयारी भइरहेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार ढुंगा फुटाउन विष्फोटक पदार्थ प्रयोग गर्न आवश्यक होल बनाउने काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सडक खुलाउन काम अघि बढाइए पनि बाढीपहिरोका कारण क्षतिग्रस्त सडकका विभिन्न खण्डमा यातायात सञ्चालनमा आउन अझै समय लाग्ने देखिएको छ।
