ओली र लेखक पक्राउ परेपछि गृहमन्त्रीको प्रतिक्रिया ‘यो प्रतिशोध होइन, न्यायको सुरुवात हो’ — गृहमन्त्री

काठमाडौं — पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही नहुने बताएका छन्।
शनिबार बिहान उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएपछि सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै गृहमन्त्री गुरुङले यो कदम राजनीतिक प्रतिशोध नभई न्यायिक प्रक्रिया सुरु भएको बताएका हुन्।


गृहमन्त्री गुरुङले आफ्नो सन्देशमा लेखेका छन् ।


‘PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौं। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।’


किन पक्राउ परे ओली र लेखक ?


गत वर्ष सेप्टेम्बरमा देशभर भएको जेन–जी आन्दोलनका क्रममा भएको हिंसामा धेरै मानिसको ज्यान गएको थियो। त्यस घटनापछि सरकारले छानबिन समिति गठन गरेको थियो।
छानबिन समितिले आन्दोलनका क्रममा भएको हिंसामा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई कारबाही गर्न सिफारिस गरेको थियो। सोही सिफारिस कार्यान्वयन गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको बताइएको छ।


नयाँ सरकार बनेपछि पहिलो ठूलो निर्णय


ओली पक्राउ हुनु एक दिनअघि मात्रै नयाँ प्रधानमन्त्रीले पदभार ग्रहण गरेका थिए। नयाँ सरकार गठन भएको भोलिपल्टै पूर्वप्रधानमन्त्री पक्राउ हुनु देशको राजनीतिमा नयाँ बहस सुरु भएको मानिएको छ।
राजनीतिक रूपमा निकै संवेदनशील मानिएको यस घटनामा सरकार र विपक्षी दलबीच विवाद थप चर्किने संकेत देखिएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *