काठमाडौं । आज हिन्दू धर्मावलम्बीहरूले भगवान् हनुमान को जन्मोत्सवका रूपमा हनुमान जयन्ती श्रद्धा र भक्तिपूर्वक मनाइरहेका छन्। प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन पर्ने यो पर्व नेपालसहित भारतका विभिन्न स्थानमा विशेष उत्साहका साथ मनाउने परम्परा रहेको छ।
धार्मिक मान्यताअनुसार हनुमानजीलाई शक्ति, भक्ति र निष्ठाको प्रतीकका रूपमा पूजा गरिन्छ। आजका दिन भक्तजनहरूले मन्दिरमा गई पूजा–आराधना गर्ने, व्रत बस्ने तथा प्रसाद वितरण गर्ने गर्छन्। विशेषगरी राम भक्तका रूपमा परिचित हनुमानको स्मरणले संकटबाट मुक्ति मिल्ने विश्वास गरिएको छ।
काठमाडौंको हनुमानढोका दरबार क्षेत्र लगायत देशभरका हनुमान मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। भक्तजनहरूले सिंदूर, तेल, फूल, अक्षता चढाएर पूजा गर्ने गरेका छन्।
यसै अवसरमा विभिन्न धार्मिक संघ–संस्थाले भजन–कीर्तन, कथा वाचन तथा दान–पुण्यका कार्यक्रमसमेत आयोजना गरेका छन्।
हनुमान जयन्तीले समाजमा साहस, निष्ठा र सेवाभावको सन्देश दिने विश्वास गरिन्छ।
हनुमान जयन्ती आज मनाइँदै