काठमाडौं । काठमाडौंसहित देशका धेरै स्थानमा सोमबार (असार १५) बिहान वर्षा भएको छ । कतिपय भूभागमा आइतबार (असार १४) बेलुका–रातिदेखि पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल कोसी, मधेस र वाग्मतीका सम्पूर्ण, गण्डकीका केही र लुम्बिनी प्रदेशको पूर्वी भूभागका थोरै स्थानमा मनसुनी वायुको प्रभाव छ । अरू भूभागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
मनसुन आज वा भोलिसम्म देशभरि विस्तार हुने पूर्वानुमान छ । “गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा आज या भोलिसम्म मनसुन विस्तार हुने सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।
