१५ असोज, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन गर्ने भएको छ।
कांग्रेसको संस्थापन पक्षले आगामी १८ असोजदेखि १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउने तयारी गरिरहेका बेला देउवा समूहले पनि समानान्तर रूपमा महाधिवेशन प्रक्रिया सुरु गरेको हो।
देउवा समूहले १५औँ महाधिवेशन आगामी २१ देखि २३ मंसिरसम्म गर्ने निर्णय गरेको छ। सोहीअनुसार महाधिवेशनको तयारी अघि बढाउँदै समूहले २० असोजमा पालिका अधिवेशन, २३ असोजमा प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशन र ४ मंसिरमा प्रदेश अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ।
समूहले आफ्नो महाधिवेशनसम्बन्धी कार्यतालिकाबारे निर्वाचन आयोगलाई समेत जानकारी गराइसकेको जनाएको छ।
यससँगै नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर दुई समूहबाट समानान्तर रूपमा अधिवेशन प्रक्रिया अघि बढेको अवस्था देखिएको छ।
