जनकपुरधाम — जनकपुरधाम क्षेत्रमा गुठी रैतानी जग्गाको मालपोत असुलीमा अनियमितता भइरहेको भन्दै स्थानीय जग्गाधनीहरूले गम्भीर गुनासो गरेका छन्। सम्बन्धित कार्यालयका कर्मचारीहरूको लापरवाहीका कारण एउटै जग्गाको मालपोत पटक–पटक तिर्नुपर्ने अवस्था आएको उनीहरूको आरोप छ।
जग्गाधनीहरूको भनाइअनुसार गुठी रैतानी जग्गाको मालपोत तिर्न जाँदा गुठी संस्था धनुषा कार्यालयले पुरानो फाइल तथा अभिलेख नमिलाईकन रसिद काट्ने गरेको देखिएको छ। अभिलेख व्यवस्थापनमा भएको कमजोरीका कारण पहिले नै तिरेको मालपोतसमेत पुनः तिर्न लगाइएको गुनासो बढ्दै गएको छ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ निवासी गत विभा कुमारीले आफूले गत २०८१ सालमै मालपोत तिरिसकेको भए पनि दुई दिनअघि चैत १५ गते मालपोत तिर्न जाँदा पाँच वर्षको मालपोत एकैपटक तिर्न लगाइएको बताएकी छन्। उनले पुरानो रसिद देखाउँदा समेत कार्यालयबाट कुनै सुनुवाइ नभएको गुनासो व्यक्त गरिन्।
“मैले पहिले नै मालपोत तिरिसकेको हुँ। तर कार्यालयमा पुरानो रेकर्ड नै छैन भन्दै पाँच वर्षको रकम तिर्न लगाइयो,” उनले भनिन्, “आफूले तिरेको पैसा फिर्ता पाउनुपर्ने भन्दा पनि कार्यालयले कुनै स्पष्ट जवाफ दिएको छैन।”
यस विषयमा गुठी संस्था धनुषा कार्यालयका प्रमुख राज किशोर झालाई जानकारी गराउँदा हाल अनलाइन बिलिङ प्रणाली लागू भइरहेको र विगतका वर्षहरूको रेकर्ड पूर्ण रूपमा अद्यावधिक नभएकाले यस्तो समस्या देखिएको प्रतिक्रिया दिएको जग्गाधनीहरूको भनाइ छ। तर प्रभावित सेवाग्राहीहरूले यसलाई लापरवाहीपूर्ण जवाफका रूपमा लिएका छन्।
स्थानीय जग्गाधनीहरूका अनुसार यस्तो समस्या एउटै व्यक्तिसँग मात्र नभएर धेरै जग्गाधनीहरूले भोगिरहेका छन्। “अधिकांशले पहिले नै तिरेको मालपोत पुनः तिर्नुपर्ने अवस्था आएको छ,” एक स्थानीय जग्गाधनीले बताए, “कार्यालयमा अभिलेख मिलानको व्यवस्था छैन, जसले सेवाग्राहीलाई अनावश्यक आर्थिक भार थपिरहेको छ।”
गुठी रैतानी जग्गाको मालपोत असुलीमा देखिएको अनियमितताले सेवाग्राहीहरूमा आक्रोश बढ्दै गएको छ। अभिलेख व्यवस्थापनमा पारदर्शिता नभएको र सेवाग्राहीलाई स्पष्ट जानकारी नदिएको आरोपसमेत लगाइएको छ।
स्थानीयवासीहरूले सम्बन्धित निकायलाई तत्काल छानबिन गरी पीडित जग्गाधनीहरूको रकम फिर्ता गराउन र भविष्यमा यस्तो समस्या दोहोरिन नदिन प्रभावकारी व्यवस्था गर्न माग गरेका छन्। साथै, अनलाइन बिलिङ प्रणाली लागू गर्दा पुराना रेकर्डहरू व्यवस्थित रूपमा अद्यावधिक गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ।
सम्बन्धित निकायले यस विषयमा छिटो ध्यान नदिए समस्या झन् जटिल हुने र सेवाग्राहीहरूको विश्वास गुम्ने खतरा रहेको स्थानीयहरूको भनाइ छ। जनकपुरधाममा गुठी रैतानी जग्गासम्बन्धी सेवा लिने नागरिकहरू अहिले पनि स्पष्टता र समाधानको प्रतीक्षामा छन्।
