काठमाडौं — प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनका लागि आज बस्ने बैठकबाट निर्वाचन तालिका सार्वजनिक गरिने भएको छ। बुधबार सम्पन्न सर्वदलीय बैठकमा चैत २२ गते सभामुखको निर्वाचन गर्ने सहमति जुटेको थियो भने चैत २० गते उम्मेदवारी दर्ताको मिति तय गरिएको छ।
उक्त सहमति अनुसार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७ बमोजिम सभामुख पदको निर्वाचन प्रक्रिया अगाडि बढाउँदै औपचारिक रूपमा मिति तोक्ने तयारी गरेका छन्।
यसैबीच, आजको बैठकको अन्त्यमा सभामुखले संविधानसभा तथा संसदसँग सम्बन्धित विभिन्न पूर्व सदस्यहरूको स्मृतिमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ। शोक प्रस्तावमा संविधानसभाका सदस्य एवं पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल तथा संविधानसभा र राष्ट्रियसभाका सदस्य बलदेव बोहोरालाई श्रद्धाञ्जली अर्पण गरिनेछ।
सभामुख चयन प्रक्रियालाई लिएर राजनीतिक दलहरूबीच सहमति कायम भएपछि अब प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्ने अपेक्षा गरिएको छ।
सभामुख निर्वाचन तालिका आज सार्वजनिक हुने