जनकपुरधाम, १५ असोज । धनुषामा टिपरबाट बालुवा–गिट्टी अनलोड गर्ने क्रममा पुरिएर एक क्रसर सञ्चालकका छोराको मृत्यु भएको छ।
मृत्यु हुनेमा मिथिला नगरपालिका–३, लालभित्तिमा रहेको औरही बाबा बालुवा प्रशोधन उद्योगका सञ्चालक रामसागर महतोका ३६ वर्षीय छोरा हरि महतो रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार बिहीबार बिहान करिब ७ः२० बजे उद्योग परिसरमा प्रदेश २–०२–००१ ख ०१७१ नम्बरको टिपरबाट बालुवा–गिट्टी अनलोड गर्ने क्रममा टिपर अचानक पल्टिएको थियो।
टिपर पल्टिँदा महतो त्यसमा रहेको बालुवा–गिट्टीमा पुरिएका थिए। उद्योग परिसरमा रहेको जेसीबीको सहयोगमा तत्काल उद्धार गरी गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि जानकी मेडिकल कलेज, रमदैयामा लगिएको थियो।
तर उपचारका क्रममा बिहान करिब १०ः२० बजे महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
