Popular Posts

ट्रमा सेन्टर बनाउन माग गर्दै ढल्केबरमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

धनुषा, २५ साउन ।

धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर सोही स्थानमा निर्माण गर्नुपर्ने माग गर्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

ट्रमा सेन्टर संरक्षण संघर्ष समितिको आह्वानमा जारी चरणबद्ध आन्दोलनअन्तर्गत सोमबार बिहान स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले आधा घण्टा राजमार्ग अवरुद्ध गरेका हुन्।

आन्दोलनकारीले बिहान ११ बजेदेखि ११ः३० बजेसम्म राजमार्गमा चक्काजाम गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए।

गत शुक्रबार संघर्ष समितिले प्रस्तावित स्थानमै ट्रमा सेन्टर निर्माण गर्नुपर्ने माग राख्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो। त्यसपछि आन्दोलनका कार्यक्रमहरू निरन्तर भइरहेका छन्।

यसअघि स्वास्थ्य मन्त्री निशा मेहताले प्रतिनिधिसभामा ट्रमा सेन्टर लहानमा निर्माण हुने जानकारी दिएपछि ढल्केबर क्षेत्रमा विरोध चर्किएको हो।

संघर्ष समितिका संयोजक तथा मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोका अनुसार ढल्केबरमा ट्रमा सेन्टर निर्माणका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया पूरा भइसकेको छ। उनका अनुसार प्रस्तावित स्थानमा लालपूर्जासमेत बनिसकेको छ।

मिथिला नगरपालिका–७, साविक ढल्केबर गाविस–२‘क’ अन्तर्गत कित्ता नम्बर १६९ को करिब चार बिघा ऐलानी जग्गालाई आधार बनाएर संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा पहिलोपटक ट्रमा सेन्टर निर्माणका लागि बजेट विनियोजन गरेको थियो।

जग्गा प्राप्तिको प्रक्रिया पूरा भइसकेको र योजना शिलान्यासको चरणमा पुगिसकेको अवस्थामा सरकारले ट्रमा सेन्टर लहानमा बनाउने जानकारी दिएपछि स्थानीयवासी आन्दोलित भएको संघर्ष समितिको भनाइ छ।

संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिँदै भोलि बिहान ११ बजेदेखि १२ बजेसम्म तथा २७ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गर्ने कार्यक्रम घोषणा गरेको छ।

स्थानीयवासीले सरकारले यसअघि प्रस्ताव गरेको ढल्केबरकै स्थानमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका छन्।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *