काठमाडौं । सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ लाख रुपैयाँ जरिबाना गरेको छ ।
चिनीको खरिद, बिक्री तथा मौज्दातको वास्तविक विवरण देखाउन नसकेको र अनुगमनका क्रममा आवश्यक कागजात उपलब्ध गराउन असहयोग गरेको भन्दै विभागले कर्पोरेसनलाई जरिबाना गरेको हो ।
विभागका सूचना अधिकारी अनिल किराँतीका अनुसार कर्पोरेसनले चिनीको दैनिक खरिद, बिक्री र मौज्दातको विवरण स्टक लेजरमा नियमित अभिलेख गर्ने दाबी गरेको थियो । तर, विभागको अनुगमन टोलीले स्टक लेजर माग्दा कर्पोरेसनले उपलब्ध गराउन सकेन ।
स्टक लेजर उपलब्ध नभएपछि कर्पोरेसनले दाबी गरेको मौज्दातसमेत प्रमाणित गर्न नसकिएको विभागले जनाएको छ ।
उपभोक्ता संरक्षण ऐनअनुसार कर्पोरेसनलाई ३ लाख रुपैयाँ जरिबाना गरिएको विभागका सूचना अधिकारी किराँतीले जानकारी दिए।
