काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता गर्दा प्राथमिकता पाउने समूहको सूची विस्तार गरेको छ ।
सरकारले चक्रीय राहत कोष सञ्चालन कार्यविधि २०८३ लागू गर्दै एकल महिला, ज्येष्ठ नागरिक, दलित तथा आदिवासी जनजाति, पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति र घातक रोग लागेका बचतकर्तालाई प्राथमिकता दिने व्यवस्था गरेको हो ।
सहकारी ऐन २०७३ अनुसार समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ताका लागि चक्रीय कोषको व्यवस्था गरिएको छ । उक्त कोषमा सरकारले उपलब्ध गराएको रकमसँगै समस्याग्रस्त सहकारीका ऋणीबाट असुल भएको रकमसमेत जम्मा हुने व्यवस्था छ ।
बचतकर्ताले प्राथमिकताका आधारमा यही कोषबाट आफ्नो बचत फिर्ता पाउनेछन् । सरकारले कोष सञ्चालनका लागि कार्यविधि बनाएर बचत फिर्ता तथा कोषमा रकम शोधभर्नासम्बन्धी व्यवस्था पनि स्पष्ट गरेको छ ।
कार्यविधिअनुसार कोष व्यवस्थापन समितिले बचत फिर्ता गर्दा एकल महिला, ज्येष्ठ नागरिक, दलित तथा आदिवासी जनजाति, पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति तथा नेपाल सरकारले तोकेका कडा वा घातक रोग लागेका बचतकर्तालाई प्राथमिकता दिनुपर्नेछ ।
