सल्यान । सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफस संक्रमणबाट दुई जनाको मृत्यु भएको छ।
दार्मा गाउँपालिका–३ का १२ वर्षीय बालक र वडा नम्बर १ का ५० वर्षीय पुरुषको संक्रमणका कारण मृत्यु भएको गाउँपालिकाका स्वास्थ्यकर्मीले बताएका छन्। स्वास्थ्यकर्मीका अनुसार दुवै जना संक्रमण हुनुअघि स्वस्थ थिए र उनीहरूमा कुनै दीर्घरोग वा अन्य स्वास्थ्य समस्या थिएन।
यी दुई जनाको मृत्यु भएसँगै दार्मा गाउँपालिकामा स्क्रब टाइफस संक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ। गाउँपालिकामा ६ सयभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको बताइएको छ।
गाउँपालिकाका स्वास्थ्य संयोजक यज्ञबहादुर बस्नेतका अनुसार सबै वडामा संक्रमण फैलिएको छ। उनका अनुसार पछिल्लो समय दैनिक ३० जनाभन्दा बढीमा संक्रमण पुष्टि भइरहेको छ।
संक्रमण बढेसँगै स्थानीयमा त्रास बढेको छ। ज्वरो आएपछि उपचारका लागि स्थानीयहरू दाङ र नेपालगन्जतर्फ जान थालेको स्वास्थ्य संयोजक बस्नेतले बताए।
यसैबीच बैतडीमा पनि चालु आर्थिक वर्षको साउन र भदौ महिनामा १३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ।
स्वास्थ्य अधिकारीहरूका अनुसार यस वर्ष जनवरीदेखि हालसम्म देशभर ९ हजारभन्दा बढीमा स्क्रब टाइफस संक्रमण पुष्टि भइसकेको छ। संक्रमण ७४ जिल्लासम्म फैलिएको बताइएको छ।
समयमै उपचार हुन नसके स्क्रब टाइफसले मिर्गौला, फोक्सो तथा शरीरका अन्य अंगमा असर पुर्याउन सक्ने चिकित्सकहरूले बताएका छन्। उच्च ज्वरोसहितका लक्षण देखिएमा ढिला नगरी स्वास्थ्य संस्थामा पुगेर जाँच तथा उपचार गराउन चिकित्सकहरूले सुझाव दिएका छन्।
