Welcome to बोलीवचन   Speak Any text Welcome to बोलीवचन

झन्डै ७५ प्रतिशत नवजात शिशु स्याहार केन्द्रमा अत्यावश्यक औषधि अभाव

काठमाडौँ । नेपालका विशेष नवजात शिशु स्याहार केन्द्रहरूमा अत्यावश्यक औषधि र उपकरणको अभाव रहेको एक अध्ययनले देखाएको छ। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयको मूल्यांकन प्रतिवेदनअनुसार जटिल अवस्थाका नवजात शिशुको उपचारका लागि आवश्यक औषधि झन्डै ७५ प्रतिशत स्वास्थ्य संस्थामा उपलब्ध छैनन्।

‘नेपालका स्वास्थ्य संस्थाहरूमा साना र बिरामी नवजात शिशुहरूको स्याहार सेवाको गुणस्तर सुधारका लागि विशेष नवजात शिशु स्याहार एकाइहरूको कार्यक्षमता मूल्यांकन’ शीर्षकको प्रतिवेदनमा धेरै स्वास्थ्य संस्थामा आवश्यक औषधि अभाव रहेको उल्लेख गरिएको छ।

प्रतिवेदनअनुसार ज्वरो आएर बेहोस भएका बिरामीका लागि प्रयोग हुने ‘फिनोबार्बिटोन’ औषधि केवल २५ प्रतिशत स्वास्थ्य संस्थामा मात्र उपलब्ध छ। त्यसैगरी सघन उपचार कक्षमा प्रयोग गरिने ‘डोबुटामिन’ नामक औषधि ४२ प्रतिशत स्वास्थ्य संस्थामा मात्र पाइन्छ।

प्राथमिक उपचारका लागि आवश्यक एन्टिबायोटिकमध्ये ८८ प्रतिशत स्वास्थ्य संस्थामा ‘एम्पिसिलिन’ र ८१ प्रतिशतमा ‘जेन्टामिसिन’ उपलब्ध रहेको प्रतिवेदनले जनाएको छ।

संयुक्त राष्ट्रसंघ जनसंख्या कोषको सहयोगमा देशभरका ८५ अस्पतालमा सञ्चालित ८५ विशेष नवजात शिशु स्याहार एकाइमा अध्ययन गरिएको थियो। अध्ययनले नवजात शिशु स्याहार सेवाको गुणस्तर, उपलब्ध स्रोतसाधन र उपचार क्षमताको मूल्यांकन गरेको हो।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. मदनकुमार उपाध्याय ले अध्ययनले सेवा प्रवाहमा रहेका कमजोरीहरू पहिचान गरेको बताउँदै नवजात शिशुको मृत्युदर घटाउन विभिन्न क्षेत्रमा सुधार आवश्यक रहेको उल्लेख गरेका छन्।

प्रतिवेदनअनुसार केवल ५७.६ प्रतिशत स्वास्थ्य संस्थामा नवजात शिशुको स्याहारका लागि कम्तीमा एक जना चिकित्सक उपलब्ध छन्। श्वासप्रश्वाससम्बन्धी जटिलता भएका शिशुको उपचारका लागि आवश्यक अत्याधुनिक उपकरण भने केवल २० प्रतिशत स्वास्थ्य संस्थामा मात्र उपलब्ध रहेको पाइएको छ।

प्रतिवेदनले औषधि, जनशक्ति, पूर्वाधार र उपकरणको अभावले नवजात शिशुको उपचार सेवाको गुणस्तरमा गम्भीर असर पारिरहेको औंल्याएको छ। बाल मृत्युदर घटाउन तथा नवजात शिशुको स्वास्थ्य सेवा प्रभावकारी बनाउन आवश्यक स्रोतसाधन, जनशक्ति र गुणस्तरीय सेवामा लगानी बढाउनुपर्ने आवश्यकता प्रतिवेदनले औंल्याएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Speak Any text