पेरिस । युक्रेनविरुद्ध जारी युद्ध अन्त्य गराउन रूसमाथि थप दबाब बढाउने विषयमा जी–७ राष्ट्रका नेताहरू सहमत भएका छन्। फ्रान्सको इभियन–लेस–बेन्समा जारी शिखर सम्मेलनमा सहभागी नेताहरूले ऊर्जा क्षेत्रलगायत विभिन्न माध्यमबाट मस्कोविरुद्धका प्रतिबन्धहरू थप कडा बनाउने विषयमा छलफल गरेका हुन्।
शिखर सम्मेलनमा भोलोदिमिर जेलेन्स्की पनि सहभागी भएका छन्। सम्मेलनका क्रममा उनले डोनाल्ड ट्रम्प सहित अन्य जी–७ राष्ट्रका नेताहरूसँग भेटवार्ता गरेका थिए।
फ्रान्सेली कूटनीतिक स्रोतहरूका अनुसार ग्यास र तेल क्षेत्रमा थप प्रतिबन्ध लगाएर रूसमाथि दबाब बढाउने विषयमा सहमति भएको छ। साथै, युद्धको वर्तमान अवस्थाले युक्रेनलाई केही रणनीतिक लाभ पुगेको निष्कर्षसमेत निकालिएको बताइएको छ।
राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रूसले सम्झौताको मार्ग रोज्नुपर्ने बताएका छन्। युद्धका कारण दुवै पक्षमा ठूलो मानवीय क्षति भएको उल्लेख गर्दै उनले समाधानका लागि आफ्नो प्रशासनले प्रयास जारी राख्ने बताएका छन्।
राष्ट्रपति जेलेन्स्कीले युक्रेनका प्रमुख प्राथमिकतामा हवाई प्रतिरक्षा प्रणालीको सुदृढीकरण, आगामी जाडो मौसमका लागि आवश्यक सहयोग तथा रूसमाथि थप अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्नु रहेको बताएका छन्। उनले रूस युद्धमा विजयी नभएको दाबी गर्दै भ्लादिमिर पुटिन लाई युद्ध अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायले दबाब दिनुपर्ने धारणा व्यक्त गरेका छन्।
यसैबीच, किअर स्टार्मर ले रूसविरुद्ध नयाँ प्रतिबन्ध घोषणा गरिएको जानकारी दिएका छन्। नयाँ प्रतिबन्धअन्तर्गत रूसी तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) ढुवानीमा संलग्न ट्याङ्करहरूलाई समेत समेटिएको जनाइएको छ।
जी–७ राष्ट्रहरूको यो कदमलाई युक्रेन युद्ध अन्त्यका लागि रूसमाथि आर्थिक तथा कूटनीतिक दबाब बढाउने प्रयासका रूपमा हेरिएको छ।