काठमाडौं । विद्युतीय मेसिन रिडेबल पासपोर्ट (ई–पासपोर्ट) खरिद प्रकरणको अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले जर्मनीका दुई कम्पनीका प्रतिनिधिलाई बयानका लागि बोलाएको छ।
आयोगले बिहीबार सार्वजनिक सूचना जारी गर्दै जर्मन कम्पनी Mühlbauer र Veridos का आधिकारिक प्रतिनिधिलाई उपस्थित भई बयान दिन निर्देशन दिएको हो। सूचनामा हस्ताक्षरकर्ताको नाम र ठेगाना तोकेर आयोगसमक्ष उपस्थित हुन भनिएको छ।
यसअघि आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनील केसी लाई असार २ गते पक्राउ गरेको थियो।
उनीहरूलाई विद्युतीय राहदानी सम्बन्धी खरिद प्रक्रियामा भएको भनिएको अनियमिततामा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ।
अख्तियारले राहदानी खरिद प्रक्रियामा सम्भावित भ्रष्टाचार, अनियमितता तथा निर्णय प्रक्रियासम्बन्धी विषयमा अनुसन्धान गरिरहेको छ। जर्मन कम्पनीका प्रतिनिधिलाई बयानका लागि बोलाइनुले अनुसन्धानको दायरा अन्तर्राष्ट्रिय आपूर्तिकर्तासम्म विस्तार भएको संकेत गरेको छ।