काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मधेस प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा, दक्ष जनशक्ति उत्पादन तथा विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना आवश्यक रहेको बताएकी छन्।
मंगलबार प्रतिनिधिसभामा ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा धारणा राख्दै मन्त्री मेहताले संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न स्वास्थ्य सेवा विस्तारसँगै गुणस्तरीय स्वास्थ्य शिक्षा र दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताइन्।
अन्य प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भई सञ्चालनमा रहे पनि मधेस प्रदेशमा हालसम्म यस्तो संस्था स्थापना हुन नसकेको भन्दै उनले प्रादेशिक सन्तुलन कायम गर्न पनि प्रतिष्ठान आवश्यक रहेको उल्लेख गरिन्।
प्रतिष्ठान स्थापनाका लागि सरकारले यसअघि नै ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति (गठन) आदेश, २०८०’ जारी गरी भौतिक पूर्वाधार निर्माण तथा अन्य तयारीका काम अघि बढाइसकेको मन्त्री मेहताले जानकारी दिइन्।
समितिको पहिलो बैठक २०८१ वैशाख २ गते बसेको र समितिको कार्यावधिसमेत निश्चित भएकाले प्रतिष्ठान स्थापनासम्बन्धी कानुनी व्यवस्था यथाशीघ्र गर्नुपर्ने अवस्था रहेको उनले बताइन्।
प्रतिष्ठान स्थापना भएपछि मधेस प्रदेशका नागरिकले आफ्नै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण बन्ने मन्त्री मेहताको विश्वास छ।
त्यस्तै, चिकित्सा शिक्षामा समानुपातिक तथा समावेशी सहभागिता सुनिश्चित गर्ने संवैधानिक र कानुनी व्यवस्थालाई कार्यान्वयन गर्न पनि प्रस्तावित विधेयकले आधार तयार गर्ने उनले बताइन्।
