काठमाडौँ ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपालका अन्तर्राष्ट्रिय सीमा नाका मतदान दिनअघि ७२ घण्टा बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ। आयोगले नेपाल–भारत र नेपाल–चीन सीमाका सबै नाका अत्यावश्यक सेवाबाहेक बन्द राख्न प्रस्ताव गरेको हो।
आयोगका अनुसार खुला सीमा भएका कारण निर्वाचन अवधिमा बाह्य प्रभाव तथा अवाञ्छित गतिविधि रोक्न यस्तो निर्णय आवश्यक ठहरिएको हो। विशेषगरी नेपाल र भारतबीचको खुला सीमाबाट हुने आवागमनलाई ध्यानमा राख्दै सुरक्षा संवेदनशीलता बढाइएको जनाइएको छ। त्यस्तै चीनसँग जोडिएका उत्तरी नाकामा पनि सोही अवधिमा कडाइ गरिनेछ।
आयोगले मतदान हुनुभन्दा एक साताअघि देशभर मदिरा बिक्री तथा वितरणमा रोक लगाउन पनि सरकारलाई सुझाव दिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षा संयन्त्रलाई प्रभावकारी बनाउन यस्तो कदम चालिएको आयोगको भनाइ छ।

सीमा बन्दको निर्णयले यात्रु आवागमन तथा व्यापारिक गतिविधिमा अस्थायी प्रभाव पार्न सक्ने भए पनि निर्वाचन सुरक्षालाई प्राथमिकता दिइएको जनाइएको छ। सरकारबाट औपचारिक निर्णय भएपछि कार्यान्वयनको प्रक्रिया अघि बढ्नेछ।