मतपरिणाम मतदान सम्पन्न भएको २४ घण्टाभित्रै सार्वजनिक गर्ने तयारी

काठमाडौं ।

निर्वाचन आयोग ले प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मतपरिणाम मतदान सम्पन्न भएको २४ घण्टाभित्रै सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। मतदान सकिएलगत्तै मतपेटिका सङ्कलन गरी द्रुत गतिमा मतगणना अघि बढाउने योजना आयोगले बनाएको हो।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले यसपटक प्रतिनिधि सभाको मात्रै निर्वाचन भएकाले परिणाम आउन धेरै समय नलाग्ने जानकारी दिए। उनका अनुसार समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न एक–दुई दिन लाग्न सक्ने भए पनि प्रत्यक्षतर्फको परिणाम मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्रै घोषणा गरिने तयारी छ।


भण्डारीले उपत्यका बाहिरका जिल्लामा मतपत्र पठाउने काम सम्पन्न भइसकेको र काठमाडौं, ललितपुर तथा भक्तपुरका केही स्थानमा मंगलबार साँझसम्म मतपत्र पुर्‍याउने गरी काम भइरहेको बताए। साथै, मतदान अधिकृतहरूको तालिम मंगलबार साँझसम्म सम्पन्न हुने र त्यसपछि आवश्यक सामग्रीसहित सम्बन्धित मतदान केन्द्रमा खटिने व्यवस्था मिलाइएको उनले जानकारी दिए।
निर्वाचन तयारीका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न भइसकेको र आयोग पूर्ण रूपमा कार्यान्वयन चरणमा प्रवेश गरिसकेको उनले उल्लेख गरे। मतपत्र छपाइदेखि ढुवानीसम्मका जटिल व्यवस्थापकीय कार्य पूरा भइसकेको र कर्मचारीहरू कार्यक्षेत्रमा परिचालित भइसकेको आयोगले जनाएको छ।
हिमाली क्षेत्रमा अस्थायी मतदान केन्द्र निर्धारणबारे भने आयोगले आवश्यक निर्णय गर्न बाँकी रहेको भण्डारीले स्पष्ट पारे। भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण मतदाताले मताधिकार प्रयोग गर्नबाट वञ्चित नहुन आयोग सजग रहेको उल्लेख गर्दै उनले आवश्यकता परे मतदाताहरू जहाँ छन् त्यहीं पुगेर मत सङ्कलन गर्ने विकल्पसमेत खुला रहेको बताए।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *