सञ्चारकर्मी र सञ्चार माध्यममाथि भएको आक्रमणको अध्ययन गर्न पत्रकार महासंघको समिति गठन

Share on Social Media

काठमाडौं, – नेपाल पत्रकार महासंघले सञ्चारकर्मीमाथि भएको आक्रमण र एक पत्रकारको मृत्युको विषयमा अध्ययन गर्न सात सदस्यीय समिति गठन गरेको छ।

शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको निधन भएको थियो, भने कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्ट दैनिक लगायतका सञ्चारगृहमा आक्रमण तथा तोडफोड गरिएको थियो।

महासंघले शनिबार राजधानीमा बसेको बैठकपछि उपाध्यक्ष उमिद बागचन्दको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा महासंघका छ जना सचिवहरू – रमेश खतिवडा, प्रकाश धौलाकोटी, सोनी शर्मा, अशोक तिवारी, वैकुण्ठराज पराजुली, र सविन प्रियासन सदस्यका रूपमा रहेका छन्।

समितिले घटनास्थल निरीक्षण गर्दै पीडित पत्रकार, सञ्चारगृहका प्रतिनिधि, प्रत्यक्षदर्शी तथा पीडितका परिवारसँग छलफल गर्नेछ। साथै, घटनाको विस्तृत अध्ययनपछि महासंघलाई आगामी कदमबारे सुझावसहित प्रतिवेदन बुझाइनेछ।

शुक्रबारको प्रदर्शनमा पूर्वराजा समर्थित समूहहरू संलग्न रहेको बताइएको छ। उनीहरूले आगलागी, तोडफोड र अन्य अराजक गतिविधि गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। महासंघले घटनाको निन्दा गर्दै स्वतन्त्र पत्रकारिता र सञ्चारमाध्यमको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *