नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन विधेयकको स्वागत

Share on Social Media

जनकपुरधाम माघ १७ गते ।

महिला, कानुन र विकास मञ्च (FWLD) ले विगत २९ वर्षदेखि महिला तथा बालबालिकाको मानव अधिकारको क्षेत्रमा वकालत तथा पैरवी गर्दै आइरहेको छ, जसमध्ये कानुनी पहिचान तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी विषयवस्तुमा समेत विभिन्न कार्यक्रमहरू आयोजना गरिरहनुका साथै नागरिकताबाट वञ्चित व्यक्तिहरूलाई निःशुल्क कानुनी सेवा पनि प्रदान गर्दै आइरहेको संस्था हो ।
नेपालको संविधान, २०७२ ले प्रदान गरेको मौलिक हकमध्ये नागरिकता प्राप्त गर्ने हक धारा ११ मा सुनिश्चित गरेको छ । तर पनि विभिन्न व्यवहारिक कठिनाईका कारण कैयौं नेपालीहरु अनागरिक हुनुपर्ने वाध्यता रहेकोमा नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधनका लागि संघीय संसदमा प्रस्तुत विधेयकलाई महिला, कानुन र विकास मञ्च (FWLD)  स्वागत गर्दछ ।
राष्ट्रिय जनगणना, २०७८ अनुसार १८ वर्षमुनिका ९८,६९,५८३ बालबालिकाहरु रहेका छन् । यस मध्ये आमासँग मात्र रहेका १६,८८,८८६ (१७.१%) बालबालिकाहरु प्रस्तावित विधेयकबाट लाभान्वित हुने देखिन्छ ।

प्रस्तावित विधेयकका सकारात्मक पक्षहरु:
१. दफा ३ को उपदफा (५क) मा “कुनै व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्रमा बाबुको नाम उल्लेख भए तापनि निजको बाबुको अन्य पहिचान नखुलेको र हाल सम्पर्कमा नरहेको भनी निजले स्वःघोषणा गरेमा त्यस्तो व्यक्तिको बाबुको पहिचान नभएको मानिनेछ र निजले उपदफा (५) बमोजिम वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।”
२. दफा ३ को उपदफा (५ख) मा “नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले तोकिए बमोजिम स्वघोषणा गरेमा अङ्गिकृत नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ ।”
३. दफा २१ को उपदफा (३क) मा “नेपाली नागरिकताको प्रमाणपत्रमा र कुनै व्यक्तिले नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेको भनी निवेदन दिएमा त्यस्तो व्यक्तिलाई दिइने नेपाली नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर तथा ठेगाना उल्लेख हुनु पर्ने स्थानमा कुनै व्यहोरा उल्लेख नगरी दिनु पर्नेछ ।”
४. दफा ३ को उपदफा (४क) मा “बाबु वा आमा मध्ये कुनै एकले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेको र अर्कोको जन्मको आधारमा नागरिकता प्राप्त गर्नु अगावै मृत्यु भएको वा बाबुले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेकोमा आमा सम्पर्कविहिन रहेको व्यक्तिको हकमा दफा ५ को उपदफा (५क) बमोजिम हुनेछ ।”
५. दफा २२(क) मा नाबालक परिचयपत्र प्रदान सम्बन्धमा “सोह्र वर्ष उमेर पूरा नभएको र बाबु वा आमा मध्ये कम्तीमा एकजना नेपाली नागरिक रहेको नाबालकलाई तोकिएको अधिकारीले तोकिए बमोजिम नाबालक परिचयपत्र प्रदान गर्न सक्नेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *