काठमाडौं ,माघ १६ गते ।
पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान सुरु गर्न लागेको सरकारले कलाकार तथा सामाजिक अभियनता मनिषा कोइरालाई `खोप सद्भावना दूत´ नियुक्त गरेको छ।

आगामी २२ माघदेखि फागुन ६ गतेसम्म देशभर एकैसाथ खोप अभियान सुरु हुँदै छ। अभियान अन्तर्गत सरकारले १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई एकसाथ पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउदै छ। सो अभियानका लागि कोइरालालाई सद्भावना दूत तोकिएको हो।
स्वास्थ्य मन्त्रालयमा आज मंगलबार आयोजित कलाकार तथा सामाजिक अभियनता कोइरालाई सद्भावना दूत घोषणा गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री प्रदीप पौडेलले कोइरालाई सद्भावना दूत नियुक्त गरिएको बारे भने,`खोपमा तोकिएका उमेर समुहका कोहि पनि नछुट्ने स्थिति निर्माण गर्नु जरुरी रहेकाले प्रचार प्रसारका निम्ति समाजमा विश्वासनीय छवि निर्माण गर्नु भएकी तथा विश्वमा नै ख्याती प्राप्त ब्यक्तिलाई खोप दूत नियुक्त गरिएको छ,´ मन्त्री पौडेलले भने।
मन्त्री पौडेलका अनुसार अबको दुई वर्ष हरेक खोप अभियानमा कोइराला सद्भावना दूतको रुपमा रहनेछिन।
मन्त्री पौडेलले देशभरका सबै खोप केन्द्रमा एचपीभी खोप पुगिसकेको बताए। उनले खोपलाई आवश्यक ब्यवस्थापन गरेर सुरक्षित रुपमा राखिएकोसमेत जानकारी दिए।
मन्त्री पौडेलले नेपाली जनतालाई उपचारात्मक मात्र होइन निरोधात्मक बनाउन उपाय अपनाउनु पर्ने जरुरी रहेकोसमेत बताए।
`नागरिकलाई सकेसम्म रोग नै लाग्न नदिने गरेर हरसम्भव प्रयास हुनु पर्छ, नेपाली जनतालाई उपचारात्मक मात्र होइन निरोधात्मक बनाउन उपाय अपनाउनु पर्ने जरुरी छ,´मन्त्री पौडेलले भने।
वर्तमान समयमा पाठेघरको मुखको क्यानसरको अवस्था बढ्दो रहेको भन्दै उनले भावी पुस्तासमेत यसबाट प्रभावित हुन नपरोस भनेर सरकारले खोप अभियान सुरु गर्न लागेको जानकारी दिए।









