महोत्तरी, जेठ १६ गते ।
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–२, धिरापुर आवरस्थित नेपाल राष्ट्रिय सर्वोदय आधारभूत विद्यालयको शैक्षिक पूर्वाधार सुदृढीकरणतर्फ एक महत्वपूर्ण कदम अघि बढेको छ। आज सो विद्यालयमा ४ कोठे पक्की भवन निर्माणको शिलान्यास गरिँदै शिक्षाको क्षेत्रमा आशाजनक परिवर्तनको आधार खडा गरिएको छ।

शिलान्यास कार्यक्रम मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न भयो। नगरप्रमुख मण्डलले भवनको अभावका कारण विद्यालयमा विगतदेखि जारी रहेको पठनपाठनको समस्या अब समाधान हुने विश्वास व्यक्त गर्दै शिक्षामा नगरपालिकाले दिएको प्राथमिकता पुनः एकपटक पुष्टि भएको बताए।
८४ लाखको लागतमा बन्ने भवन
करीब ८४ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको यो भवन मटिहानी नगरपालिकाको आन्तरिक स्रोतबाट निर्माण गरिनेछ। कार्यक्रममा उपस्थित प्राविधिकहरुले भवन निर्माणका सम्पूर्ण कार्य यथाशीघ्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।
सहभागितामा विविध राजनीतिक तथा सामाजिक प्रतिनिधित्व
शिलान्यास कार्यक्रममा विभिन्न तहका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा समाजसेवीहरुको उल्लेखनीय सहभागिता रह्यो। वडा नं. २ का वडा अध्यक्ष मोहम्मद रयूफ, वडा नं. १ का अध्यक्ष शिवशंकर कुमार राय, नेपाली काँग्रेसका नेता गरीब दास ठाकुर, खुर्शेद कवारी, पूर्व वडा अध्यक्ष शिवचन्द्र झा, शिक्षा संयोजक श्रीश मिश्र, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण यादव, लोसपा नेता मोसाफिर सहनी, समाजसेवी राम जतन यादव, बैकुण्ठ यादव, प्र.अ. लक्ष्मण मण्डल, अरुण ठाकुर, कैलाश यादव लगायत वडाका सदस्य तथा स्थानीयवासीहरुको उपस्थिति कार्यक्रमलाई विशेष बनायो।
स्थानीयको आशा: गुणस्तरीय शिक्षामा पहुँच
विद्यालयमा नयाँ भवन निर्माणसँगै विद्यार्थीहरुले सुरक्षित, सहज र गुणस्तरीय पठनपाठन वातावरण प्राप्त गर्ने स्थानीयहरुको अपेक्षा रहेको छ। विद्यालयका प्रधानाध्यापक लक्ष्मण मण्डलले समुदायको साथ र सरकारी सहयोगले विद्यालयको शिक्षास्तर अझ उकासिने विश्वास व्यक्त गरे।
शैक्षिक पूर्वाधार अभावका कारण समस्यामा रहेको विद्यालयलाई भवन निर्माणले नयाँ जीवन दिने अपेक्षा गरिएको छ। स्थानीय समुदाय, जनप्रतिनिधि र शिक्षासंस्थाबीचको सहकार्यले यो योजनाले दीर्घकालीन असर पार्ने विश्वास लिइएको छ।