जनकपुरधाम, जेठ २७ गते।राजर्षि जनक विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहले महिला शिक्षाको क्षेत्रमा उल्लेखनीय सफलता देखाएको छ। विश्वविद्यालयबाट सम्मानित १० उत्कृष्ट विद्यार्थीमध्ये ८ जना छात्रा र २ जना छात्र रहेका छन्, जुन तथ्यले मधेस जस्तो परम्परागत समाजमा महिलाको शैक्षिक अगुवाइलाई प्रमाणित गरेको छ। सन् २०१८, २०१९ र २०२० का स्नातक ब्याचका टपर विद्यार्थीहरू— प्रिया कर्ण, दीक्षाकुमारी …
जनकपुरमा पहिलो पल्ट दीक्षान्त समारोह: विभूषित १० मध्ये ८ छात्रा, जनकपुरधामको पौराणिक गाथाको चर्चा


जनकपुरधाम, जेठ २७ गते।
राजर्षि जनक विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहले महिला शिक्षाको क्षेत्रमा उल्लेखनीय सफलता देखाएको छ। विश्वविद्यालयबाट सम्मानित १० उत्कृष्ट विद्यार्थीमध्ये ८ जना छात्रा र २ जना छात्र रहेका छन्, जुन तथ्यले मधेस जस्तो परम्परागत समाजमा महिलाको शैक्षिक अगुवाइलाई प्रमाणित गरेको छ।
सन् २०१८, २०१९ र २०२० का स्नातक ब्याचका टपर विद्यार्थीहरू— प्रिया कर्ण, दीक्षाकुमारी मण्डल र ज्योती चौधरी—लाई ‘कुलपति पदक’ प्रदान गरिएको छ। साथै, विभिन्न संकायमा उत्कृष्ट हुने काजोल रौनियार, प्रिया कर्ण, आरतीकुमारी राउत, रुपेश ठाकुर, दीक्षाकुमारी मण्डल, पंकज यादव, दीक्षा कर्ण, रानीकुमारी साह, ज्योती चौधरी र रश्मीकुमारीलाई ‘उपकुलपति पदक’ प्रदान गरिएको छ। विभूषितमध्ये अधिकांश महिला विद्यार्थीहरू रहेको तथ्यले मधेसमा शिक्षा क्षेत्रको सामाजिक रूपान्तरणलाई स्पष्ट पारेको छ।
११४ जना उत्तीर्णमध्ये ८६ जनाले दीक्षान्त समारोहमा सहभागिताको लागि आवेदन दिएका थिए। समारोहमा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षता तथा शिक्षाविद् डा. राजेन्द्र प्रसाद बिमलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
समारोहमा मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले मिथिला भूमिको ऐतिहासिक र दार्शनिक योगदानको चर्चा गर्दै विश्वविद्यालयको स्तरवृद्धिमा सरकारको सहयोग निरन्तर जारी रहने बताए। प्रमुख अतिथि डा. बिमलले नेपाल तथा मिथिला क्षेत्र दर्शन र ज्ञानको उद्गम स्थल भएको स्मरण गर्दै आधुनिक शिक्षा प्रणालीसँग त्यसको सहकार्य आवश्यक रहेको बताए।
मधेस प्रदेशका मुख्यमन्त्री तथा सहकुलपति सतिशकुमार सिंहले मधेसको साक्षरता दर अझै चुनौतीपूर्ण रहेको औंल्याउँदै संघीय सरकारले प्रदेशस्तरीय विश्वविद्यालयहरूको पूर्वाधार विकासमा साथ दिनुपर्ने आवश्यकता उल्लेख गरे।
दीक्षान्त समारोहमा उपकुलपति अमरप्रसाद यादव, रेक्टर सत्यनारायण साह, प्रदेश सरकारका मन्त्रीहरू, जनकपुर क्षेत्रका शिक्षाविद्, विद्यार्थी, अभिभावक र स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।
यो समारोह राजर्षि जनक विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह मात्र नभई जनकपुरमा पहिलोपटक यस किसिमको शैक्षिक उत्सवको आयोजना भएको अवसर पनि रह्यो।


Subscribe to Our Newsletter
Keep in touch with our news & offers