काठमाडौं, असार १० गतै ।
मध्यपूर्वमा चर्किएको इरान–इजरायल द्वन्द्वको अप्रत्यक्ष असर नेपालसम्म परेको छ। उक्त द्वन्द्वका कारण कतार तथा आसपासका देशहरूले सोमवार रातिदेखि अस्थायी रूपमा आफ्नो हवाई क्षेत्र बन्द गरेपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा, दुबई र दमामका लागि हुने तय भएका पाँचवटा उडान एकैसाथ स्थगित भएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार नेपाल एअरलाइन्सको दोहातर्फ राति ११ बजे उड्नुपर्ने उडान समेत अन्तिम समयमा आएर रद्द गर्नुपरेको थियो।
यात्रुहरू सुरक्षाको अन्तिम चरण पार गरी विमान चढ्नै लाग्दा उडान स्थगनको सूचना दिइएपछि उनीहरूलाई पुनः टर्मिनल भवनतर्फ फर्काइयो। तर, त्यसपछि पनि विमानस्थल व्यवस्थापन र वायुसेवा कम्पनीहरूले यात्रुहरूको समुचित व्यवस्था गर्न नसकेको भन्दै यात्रुहरूले गुनासो गरेका छन्।

एक यात्रुले नाम नखुलाउने सर्तमा भने,
“हामी सबैलाई टर्मिनलबाट पनि बाहिर निकालियो। वायुसेवा कम्पनीले ‘यो हाम्रो कारण होइन’ भन्दै बस्नका लागि कुनै व्यवस्था गरेन। म त आफन्तकहाँ गएर बसेँ तर कतिपय साथीहरू विमानस्थलबाहिर खुलेआम सुत्नुपर्यो।”
कतारको अमेरिकी सैन्य अखडामा इरानले गरेको मिसाइल आक्रमणपछि बढेको तनावका कारण हवाई मार्ग बन्द गरिएको हो। यसबाट खाडी मुलुकका विभिन्न एयरलाइन्सहरूले आकस्मिक रूपमा उडान मार्ग परिवर्तन गरेका छन् भने कतिपयले उडान नै रद्द गरेका छन्।
यस परिस्थितिको असर नेपालमा समेत परेको छ, जहाँ खाडी मुलुकहरूतर्फ दैनिक दर्जनौँ उडानहरू हुने गर्छन्। खासगरी वैदेशिक रोजगारीमा जाने कामदार र ती देशहरूमा बसोबास गरिरहेका नेपालीहरू प्रभावित भएका छन्।
यसै विषयमा नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले नाम नखुलाउने सर्तमा भने,
“यो एक अन्तर्राष्ट्रिय सुरक्षा संकट हो, विमानस्थल प्रशासन वा वायुसेवा कम्पनीको सिधा नियन्त्रणमा छैन। तर, भविष्यमा यात्रु व्यवस्थापनमा सुधार ल्याउन हामीले पाठ सिक्नुपर्छ।”
सामान्य अवस्थामा दोहा, दुबई, दमामजस्ता शहरहरूमा जाने उडानहरू नेपाली कामदार, विद्यार्थी तथा पर्यटकहरूका लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छन्। इरान–इजरायलबीचको तनाव चर्किँदै गएमा अझ धेरै उडानहरू प्रभावित हुने अनुमान गरिएको छ।
अर्कोतर्फ, यस्तो परिस्थितिमा नेपाल सरकार तथा वैदेशिक मन्त्रालयले समेत सतर्कता अपनाउँदै वैदेशिक गन्तव्य जाने यात्रुहरूका लागि सूचनामूलक निर्देशन जारी गर्नुपर्ने देखिएको छ।