जनकपुरकी ‘कलकतियावाली’ अंशा सदाको रहस्यमय मृत्यु : प्रेम, जातीयता र सामाजिक दबाबको चुलिँदो त्रासदी

Share on Social Media

जनकपुरधाम, असार ११ गते ।
केही महिनाअघि मात्रै अन्तरजातीय विवाह गरेर सामाजिक विभाजनविरुद्ध प्रेमको पक्षमा उभिएकी कलाकार अंशा सदा उर्फ ‘कलकतियावाली’को अकाल मृत्युले मिथिला क्षेत्रमा हलचल मच्चाएको छ । लोकप्रिय गायक तथा कलाकार अविनाश झासँग विवाह बन्धनमा बाँधिएकी अंशा सोमबार राति सुटिङ स्थलमै मृत अवस्थामा फेला परेकी छन् ।

जनकपुरधाम उपमहानगरपालिका–१५, नोचा पोखरीस्थित घरमा राति करिब ९ बजे बाँसको टेकोमा झुण्डिएको अवस्थामा अंशाको शव भेटिएको पुष्टि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी वरुण बहादुर सिंहले गरेका छन् । घटनाको अनुसन्धान जारी छ भने शवलाई प्रदेशिक अस्पताल जनकपुरधाममा पोस्टमार्टमका लागि लगिएको छ।

प्रेम विवाहपछि तनाव ?

अंशा सदा र अविनाश झा बीच माघ महिनामा भएको अन्तरजातीय विवाह जनकपुर क्षेत्रमै एक साहसी कदमका रूपमा हेरिएको थियो । तर विवाहपछि अंशाले विभिन्न सामाजिक र पारिवारिक दबाब खेप्नुपरेको परिवारको भनाइ छ ।

दलित अधिकारकर्मी चन्देश्वर सदा भन्छन्, “यो आत्महत्या होइन, योजनाबद्ध हत्या हुनसक्छ भन्ने आशंका बलियो छ । सामाजिक दबाब, जातीय भेदभाव र पारिवारिक प्रतिरोध यस्ता घटनाको पृष्ठभूमिमा रहन्छन् । आत्महत्याको अन्तिम विकल्प त जबरजस्ती बन्ने वातावरणले जन्मिन्छ ।”

अंशाको अन्तिम समय

घटनाको साँझ सुटिङ स्थलमा खाना पकाउँदै गरेकी अंशा एक्कासि गायब भएपछि अन्य कलाकारहरूले खोजी गरेका थिए । केही समयपछि उनी घरभित्र झुण्डिएको अवस्थामा फेला परिन् । श्रीमान अविनाश झाका अनुसार अंशा केही दिनदेखि शारीरिक रूपमा अस्वस्थ थिइन् । उनले भने, “उहाँको स्वास्थ्य कमजोर थियो । तर यस्तो अचानक निर्णय कसरी लिइन, म अझै पनि अचम्ममा छु ।”

अंशाका पिता रतन सदाले भने छोरीले जातीय कारणले मानसिक तनाव खेपिरहेको बताएकी थिइन् भनेर दुख व्यक्त गरे । “अंशाले भनकी थिइन्, अविनाशलाई हाम्रो जातका कारण धेरै कुरा सुनाउनुपर्छ भनेर । यस्तो अन्त्य होला भन्ने त कल्पना पनि थिएन,” उनले भावुक हुँदै भने।

बहिनीको बयान : केही असामान्य

कान्छी बहिनी मन्सा सदा भन्छिन्, “राति ८ बजे मात्र दिदीसँग भेटेर फर्केकी थिएँ । अवस्था सामान्य थियो । तर ९ः३० बजे मृत्युको खबर आयो, म आत्तिएँ, होस नै हरायो ।”

मन्साका अनुसार अंशाको स्वास्थ्य कहिलेकाहीं कमजोर हुन्थ्यो, तर त्यो घातक हुने गरी कहिल्यै बिग्रिएको थिएन । यसले घटनालाई थप शंकास्पद बनाएको छ।

अनुसन्धानको बाटोमा प्रश्न

प्रहरीले घटनालाई आत्महत्याको प्रारम्भिक रुपमा लिएको भए पनि परिवार र अधिकारकर्मीहरू हत्या वा उक्साइएको आत्महत्याको आशंका व्यक्त गरिरहेका छन् । यथार्थ पत्ता लगाउन निष्पक्ष अनुसन्धानको माग तीव्र छ ।

अन्तिम प्रश्नहरू

सामाजिक र जातीय पूर्वाग्रहबीच अंशा सदाले प्रेम र सहजीवन रोजिन् । तर समाजले उनलाई त्यो रोजाइमा स्थायित्व दिन सकेन । उनको मृत्यु केवल व्यक्तिगत क्षति मात्र नभई, यो मिथिलाको सामाजिक संरचनामाथिको एक गम्भीर प्रश्न हो— के अन्तरजातीय प्रेम यहाँ अझै पनि अपराधसरह हो ? के नारीलाई आफ्नै निर्णयको मूल्य ज्यान दिएर चुकाउनु पर्छ ?

यो घटनाले नेपाली समाजमा जातीय भेदभाव र अन्तरजातीय विवाहप्रति रहेको असहिष्णुता पुनः सतहमा ल्याएको छ । अंशा सदाको मृत्यु प्रेम मात्र होइन, सामाजिक विमर्शको मुद्दा बनिसकेको छ— जसको उत्तर खोज्न हामी सबै बाध्य छौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *