जनकपुरधाम, असार ११ गते ।"लोकतन्त्रको आत्मा नै पत्रकारिता हो। तर जब आत्मा आफैं दिशाहीन हुन्छ, तब सम्पूर्ण व्यवस्था नै संकटमा पर्छ।" — यही सन्देश दिए मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले आज जनकपुरधाममा आयोजित एक महत्वपूर्ण कार्यक्रममा। धनुषा जिल्लाको मिथिला विहारी नगरपालिकास्थित पुरन्दाहा गाउँमा सुरु भएको तीनदिने अनलाइन सञ्चार माध्यम सम्पादक अभिमुखीकरण कार्यक्रम …
विश्वसनीय पत्रकारिता आवश्यकतामात्र होइन, जिम्मेवारी हो — सञ्चारमन्त्री लेखी

जनकपुरधाम, असार ११ गते ।
“लोकतन्त्रको आत्मा नै पत्रकारिता हो। तर जब आत्मा आफैं दिशाहीन हुन्छ, तब सम्पूर्ण व्यवस्था नै संकटमा पर्छ।” — यही सन्देश दिए मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले आज जनकपुरधाममा आयोजित एक महत्वपूर्ण कार्यक्रममा।
धनुषा जिल्लाको मिथिला विहारी नगरपालिकास्थित पुरन्दाहा गाउँमा सुरु भएको तीनदिने अनलाइन सञ्चार माध्यम सम्पादक अभिमुखीकरण कार्यक्रम को उद्घाटन गर्दै मन्त्री लेखीले नेपाली पत्रकारिता विशेषगरी अनलाइन पत्रकारिता क्षेत्रमा देखिएको उथलपुथलप्रति गम्भीर चिन्ता व्यक्त गरे।
पत्रकारितामा बढ्दो ‘कपी-पेस्ट’ संस्कृतिप्रति चेतावनी
लेखीले वर्तमान अनलाइन पत्रकारितामा खोज, तथ्य संकलन र अनुसन्धान भन्दा बढी ‘कपी–पेस्ट’ प्रवृत्तिले स्थान लिएको बताए। “आचार संहिताको पालना नगरी लेखिएको समाचारले न त पाठकको विश्वास जित्छ, न त लोकतान्त्रिक समाजलाई सही दिशा दिन सक्छ,” उनले भने।
उनका अनुसार, पत्रकारिता केवल सूचनाको संप्रेषण होइन, त्यो एउटा विचार निर्माणको अभियान हो — जहाँ सत्य, निष्पक्षता र जिम्मेवारी अनिवार्य मूल्य हुन्।
राजनीतिक रूपान्तरणमा पत्रकारिताको भूमिका अपरिहार्य

मन्त्री लेखीले राज्यको रूपान्तरण, नागरिक स्वतन्त्रता, समावेशिता र गणतन्त्रको स्थायित्वका लागि पत्रकारिता क्षेत्रले ‘कलमको क्रान्ति’लाई निरन्तरता दिनुपर्ने धारणा राखे। “राज्य व्यवस्थामा थारु र दलित समुदायको समावेशीकरण मधेश सरकारको प्राथमिकतामा छ। यसले उत्पन्न गरेका तरङ्गहरू सकारात्मक बहसका विषय हुन्, विघटनका होइन,” उनले थपे।
व्यक्तिगत निष्पक्षताको दावी
स्वयंमाथि कुनै व्यक्ति वा संस्थाको प्रभाव नपर्ने स्पष्ट पार्दै मन्त्री लेखीले आफू संविधान, ऐन, नियमावली र लोकतान्त्रिक मूल्यबोधको आधारमा अघि बढ्ने बताएका छन्। “म निर्णय गर्दा न त दबाबमा पर्छु, न डराउँछु,” उनले भने।
कार्यक्रममा विविध सहभागिता
कार्यक्रममा आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खडकाले अध्यक्षता गरेका थिए। कार्यक्रममा चलचित्र तथा लोक सञ्चार प्रवद्र्धन बोर्डका अध्यक्ष किशोर कुमार लेखी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रेस सल्लाहकार अवधेश कुमार झा, र मिडिया काउन्सिल मधेश प्रदेशका सदस्य सुरेश यादवले समेत मन्तव्य राखे।
अभिमुखीकरण कार्यक्रमको उद्देश्य
तीन दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रम मधेश प्रदेशमा दर्ता भएका अनलाइन सञ्चार माध्यमका सम्पादकहरूका लागि सञ्चारको उत्तरदायित्व, कानुनी चेतना, आचारसंहिता, डिजिटल सुरक्षा तथा स्रोतहरूको विश्वसनीय प्रयोग सम्बन्धी विषयमा केन्द्रित रहेको बताइएको छ। आम सञ्चार प्राधिकरणका निमित्त कार्यालय प्रमुख प्रसन्नराज कर्णले कार्यक्रमको संरचना र उद्देश्यबारे जानकारी गराए।
सञ्चारमन्त्री लेखीको भनाइ पत्रकारिताको गम्भीर मोडमा आएको संकेत दिन्छ। जब पत्रकारिता स्वयं संकटमा पर्छ, तब लोकतन्त्रको रक्षाकवच पनि कमजोर बन्छ। यस्तो सन्दर्भमा पत्रकारको कलम सत्यतर्फ मोडिनु र समाजको मेरुदण्ड बन्नु आजको सबभन्दा ठूलो आवश्यकता हो।
Subscribe to Our Newsletter
Keep in touch with our news & offers