धनुषा —
आसन्न आम निर्वाचन नजिको हुँदै जाँदा विभिन्न सामाजिक सञ्जालमा उम्मेदवारबारे अनेक अड्कलबाजी भइरहेका बेला नेपाली काँग्रेसले भने धनुषा क्षेत्र नं. ३ को लागि आफ्नो प्राथमिकता स्पष्ट बनाएको छ। क्षेत्रीय तहमा भएको विस्तारित बैठकले पूर्वउपप्रधानमन्त्री तथा वरिष्ठ नेता विमलेन्द्र निधिलाई प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत रूपमा सिफारिस गरेको छ।
धनुषा क्षेत्र नं. ३ का क्षेत्रीय अध्यक्ष धिरेन्द्र निधिको अध्यक्षतामा बसेको बैठकले प्रत्यक्षतर्फका उम्मेदवारमा विमलेन्द्र निधिको एकल नाम अघि बढाउने निर्णय गरेको हो। केन्द्रिय समितिले पठाएको परिपत्रअनुसार प्रत्यक्षतर्फ एक महिला सहित अधिकतम तीन जनाको नाम सिफारिस गर्न सकिने व्यवस्था भए पनि बैठकमा उपस्थित नेताहरूले विमलेन्द्र निधिलाई नै एकमात्र उम्मेदवार बनाउने निष्कर्ष निकालेका छन्।
बैठकमा नेताहरूको एकमत
सिफारिस बैठकमा स्मृति नारायण चौधरी, रामसरोज यादव सहित क्षेत्रका अधिकांश काँग्रेस नेताहरू उपस्थित थिए। उपस्थित नेताहरूले निधिलाई आगामी निर्वाचनमा क्षेत्रको प्रमुख दावेदारका रूपमा अघि सार्नु आवश्यक रहेको तर्क प्रस्तुत गरेपछि सर्वसम्मत सिफारिस प्रक्रिया सहज रूपमा पारित भएको क्षेत्रीय नेतृत्वले जनाएको छ।

समानुपातिकतर्फ भने क्षेत्र नं. ३ ले मकसदअनुसार नाम संकलन प्रक्रिया सुरु गरे पनि अन्तिम सूची तय भइसकेको छैन।
काँग्रेसभित्र चुनावी तयारी तीव्र
यद्यपि राष्ट्रिय राजनीतिमा प्रतिनिधिसभा समयमै विघटन हुने वा पुनःस्थापना हुने भन्ने बहस चलिरहेको छ। काँग्रेसकै केही पूर्वसांसदहरूले प्रतिनिधिसभा पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा रिट दायर गरेकाले निर्वाचनको समयबारे प्रश्न उठाइएका छन्। तर अर्कोतर्फ नेपाली काँग्रेस संगठनात्मक रूपमा भने सबै जिल्लामा उम्मेदवार छनोट र चुनावी तयारीलाई तिब्रता दिइरहेको छ।
धनुषा–३ मा निधिको उम्मेदवारी सिफारिसले काँग्रेसले आगामी निर्वाचनलाई गम्भीर रूपमा लिएको सन्देश पुगेको छ। क्षेत्रीय समितिले सन्देश दिएको छ— “निर्वाचन कहिले भए पनि, काँग्रेस तयार छ।”
धनुषाको चुनावी समीकरणमा निधिको उपस्थितिलाई निर्णायक मान्ने गरिन्छ। यसपटक पुनः प्रतिस्पर्धामा उत्रने उनको तयारी औपचारिक बन्दै जाँदा आगामी निर्वाचनमा धनुषा–३ राजनीतिक रूपमा थप चहलपहलको केन्द्र बन्ने संकेत देखिएको छ।










